बाह्रबिसे पक्की पुल बग्यो, नुवाकोटमा पनि उस्तै समस्या

badi

   काठमाडौं । शुक्रबार र शनिबार राति आएको वर्षाका कारण बाह्रबिसे बजार बगर जस्तै बनेको छ भने एउटा पक्की पुल पनि बगाएको छ । शुक्रबारको बाढिले क्षतीग्रस्त बनाएको अरनिको राजमार्ग अन्तर्गत खोर्सानीबारीमा रहेको पक्की पुल शनिबार रातिको बाढीले पूर्ण रुपमा बगाएको हो ।

यता, नुवाकोटको गेर्खु खोलाको बाढीले गेर्खु पुलको दायाँ बाँया नै कटान गर्दा पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली–बेत्रावती खण्ड ठप्प भएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट–रसुवा आवतजावत गर्न सकिएको छैन ।

शुक्रबार रातिको बाढीले बाह्रबिसे नजिकै रहेको साँधीखोला माथीको पुलको आधा भाग बगाएपछि मोटरसाइकल बाहेकका सवारी साधन चलाउन रोक लगाइएको थियो । तर, शनिबार राति भोटेकोशीको बाढीले पुल पूर्ण रुपमा बगाएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । राजमार्गका पुल बगाएपछि अब बाह्रविसे नगरपालिकाको केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ ।

शनिबार राति आएको बाढी बाह्रविसे बजारमा पसेपछि बाह्रविसे बजार अहिले बगरमा जस्तै बनेको छ । स्थानीयबासीका अनुसार बाढिसँगै आएको लेदो पानी र ढुंगा सडकको सतहभन्दा निकै माथीसम्म पसेको छ ।

प्रतिक्रिया

सम्बन्धित