एसियाड भइरहेको इन्डोनेसियामा ४० मिनेटमा भूकम्पका तीन ठूला झड्का

ondonesiya

  काठमाडौं । एसियाड भइरहेको इन्डोनेसियामा लगातार भूकम्पका शक्तिशाली झट्का महसुस गरिएको छ। गत अगस्ट ५ मा इन्डोनेसियाको लामबोक टापुमा आएको भूकम्पपछि दिनहुँ जसो लगातार भूकम्प र परकम्पको महसुस गरिएका छन्। आइतबारको भूकम्पका कारण एक व्यक्तिको मृत्यु भएको बताइएको छ भने केही स्थानमा आगलागीको खबर छ। केही दिन अघि मात्र आएको भूकम्पमा परी सयौं मानिसले ज्यान गुमाएका थिए ।

सबैभन्दा ठूलो भूकम्प ६.३ म्याग्निच्यूडको रहेको सीएनएनले जनाएको छ। आइतबार लोमबोक टापुलार्इ केन्द्र बनाएर भूकम्प गएको थियो। भूकम्प लोमबोकसँगै पर्यटकीय टापु बालीलार्इ समेत असर पुर्‍याएको छ।युएसजीसले भूकम्पलार्इ ६.३ म्याग्निच्यूड मापन गरे पनि इन्डोनेसियाको भूगर्भ विभागले ६.५ म्याग्निच्यूड भनेको छ। यसअघि आइतबार नै प्रशान्त महासागरको फिजी नजिक ८.२ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

यसअघि अगस्ट ५ तारिखमा ६.९ म्याग्नेच्यूडको भूकम्प आएको थियो जसका कारण ४६० को मृत्यु भएको थियो। साथै, जुलाई २९ तारिखमा पनि ६.४ म्याग्नेच्यूडको भूकम्प आएका थियो। भूकम्पपछि पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो। – एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित