भिम रावलका कारण कञ्चनपुरमा गोली चलेको नेकपाकै नेताहरुको आरोप

bhim rawal

  काठमाडौं । भीमदत्तनगर–२ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका छन्। विहिबार गोली चलेपछि सरकारले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र एक डिएसपीलाई फिर्ता समेत बोलाएर उनीहरुको स्थानमा नयाँलाई पठाइसकेको छ । सरकारले घटनाको अनुसन्धानका लागि भन्दै छानबिन समिति समेत गठन गरिसकेको अवस्था छ ।

छानविन समिति गठन भएपछि आन्दोलन सेलाउने अनुमान गरिएको थियो । तर, शुक्रबार एकाएक आन्दोलनले उग्र रुप लियो । जसका कारण प्रहरीले बाध्य भएर गोली चलाउँदा १७ वर्षिय किशोरको मृत्यु भएको छ भने दुई दर्जन घाइते भएका छन् ।

आज गोली चल्नुमा सत्तारुढ दलकै नेता भीम रावल रहेको नेकपाकै नेताहरुले आरोप लगाएका छन् । शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।

निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।

स्रोतका अनुसार गोली चलेको खबर पाए लगतै कैलाली र कञ्चनपुरका सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका थिए । घटना भएको क्षेत्र कञ्चनपुर–३ का प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टका साथै सांसदहरु लेखराज भट्ट, नरबहादुर धामी खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।

उनीहरुले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रुपमा लिनु पर्ने बताएका थिए । लगतै प्रचण्डले पार्टीका सांसद्हरुकै सामुन्ने प्रधानमन्त्री ओलीलाई फोन गरेर कञ्चनपुर घटना गम्भीर भएकाले उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरेका थिए ।

सरकारले बिहीबार मात्र सह–सचिवको नेतृत्वमा समिति गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सरुवा गरेको थियो । दुबै कार्यक्षेत्रमा पुगेकै दिन आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जना मारिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित