आज रक्षाबन्धन र जनैपूर्णिमा मनाइँदै

janai purnima

 काठमाडौं । हातमा डोरो बाँधेर र नयाँ जनै लागाएर आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै छ । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । विगतमा रक्षा बन्धन अर्थात जनैपूर्णिमाको दिन देशभर सार्वजनिक विदा दिने गरिए पनि यस वर्ष भने विदा कटौती गरिएको छ । कतिपय प्रदेश सरकारले भने आफ्नो प्रदेशमा विदा दिएका छन् ।

पौराणिक कथनअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए । यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने प्रचलन छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । जर्ने फेर्ने र डोरो बाँध्नेहरुको काठमाडौंका मन्दिर परिसरमा बिहानैदेखि घुइँचो छ ।
जनै फेर्नेहरुले हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ ।

बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लार्इ दुर्इ बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलार्इ एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

आजको दिन गुरु पुरोहितले डोरो बधिदिंदा ‘येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् । तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’ भनेर बाधिदिने गर्छन् ।
जसको अर्थ ‘जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।’

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू–भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाडौंको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोटलगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।

जनैपूर्णिमाको दिन विभिन्न किसिमका गेडागुडीलाई भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको ‘क्वाँटी’ हो । आजको दिनलार्इ क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजार्इ राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलार्इ क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलार्इ विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित