राष्ट्रियसभाका समितिमा भागवण्डा मिल्यो, तीतवटामा नेकपा र एउटामा कांग्रेस

bicc

 काठमाडौं । राष्ट्रियसभाका चारवटा विषयगत समितिको सभापति भागबण्डामा सत्तारुढ दल नेकपा र कांग्रेसबीच सहमति भएको छ । सहमतिअनुसार नेकपाले तीनवटा र कांग्रेसले एउटा समितिको सभापति लिने छन् ।

प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको छलफलपछि नेकपाले एउटा समितिको नेतृत्व कांग्रेसलाई छाडेको हो । राष्ट्रियसभामा नेकपाका सचेतक खिमलाल भट्टराईले शीर्ष नेताबीच सहमतिपछि दिगो विकास तथा सुशासन समितिको नेतृत्व कांग्रेसलाई दिने निर्णय भएको जानकारी दिए । समिति सभापति चयनका लागि मंगलबार मनोनयनको समय तोकिएको थियो ।

नेकपाले पाएको तीनवटा समितिका लागि एक–एक जनाको उम्मेदवारी परेको छ । नेकपाले विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा ९पार्वती० र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारीलाई सभापति उम्मेदवार बनाएको छ । कांग्रेसले भने आफूले नेतृत्व पाएको समितिको सभापतिमा मंगलबार उम्मेदवारी दिएको छैन ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार एकरएकजनाको मात्रै उम्मेदवारी परेकाले नियमावलीअनुसार तीनवटा समितिको बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर सभापति निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् । बुधबार समितिहरूको बैठक बोलाइएको छ । कांग्रेसले अन्य समितिमा रहेका सदस्यलाई दिगो विकासको सभापति बनाउने तयारी गरेकाले उम्मेदवारी दिन सकेन । कांग्रेस सचेतक सरिता प्रसाईंले प्राविधिक कारणले उम्मेदवारी दिन नसकिएको बताइन् ।

कांग्रेसले राष्ट्रिय सरोकार तथा समन्वय समितिका सदस्य तारादेवी भट्टलाई समितिको नेतृत्व दिने तयारी गरेको छ । त्यसका लागि उनको नाम दिगो विकास समितिमा सार्नुपर्ने छ । भदौ १९ गते बस्ने राष्ट्रियसभा बैठकबाट भट्टको नाम सारिएपछि मात्रै दिगो विकास समितिको नेतृत्व चयन हुनेछ । – रासस

प्रतिक्रिया

सम्बन्धित