पैसाका कारण विप्लव र प्रकाण्डबीच मतभेद

biplabk

 काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र दुई शीर्ष नेताहरूका बीच विवाद उत्पन्न भएको रहस्य बाहिरिएको छ । महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच विवाद देखिएको छ । विप्लवकै सूचनाका आधारमा प्रहरीले प्रकाण्डलाई साउन २२ गते पक्राउ गरेको प्रकाण्ड निकटका नेताहरूले आरोप लगाउन थालेका छन् ।

  हेटौँडाबाट काठमाडौं आउँदै गरेका प्रकाण्डलाई विप्लवले नजान आग्रह गरेका थिए । तर, प्रकाण्ड विप्लवको आग्रहलाई अटेर गरेर काठमाडौं भित्रने वित्तिकै पक्राउ परेका हुन् । विप्लव र प्रकाण्डबीच चन्दाको रकम हिनामिना गरेको विषयमा विवाद रहँदै आएको छ । प्रकाण्डले पार्टीका नाममा करोडौँ रुपियाँ चन्दा रकम उठाएर अपारदर्शी बनाएको आरोप विप्लवको छ ।
पार्टीभित्रको विवाद बाहिर नजाओस् भनेर विप्लवले प्रकाण्डलाई सार्वजनिक रुपमा केही भनेका थिएनन् ।

 तर, हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा विप्लवले चन्दाका विषयमा प्रवक्ता प्रकाण्डको आलोचना गरेको स्रोतले जनाएको छ । प्रकाण्डसँग खटपट भएपछि विप्लव नेपाल र भारत दुबैतिर सेल्टर बनाएर बस्न थालेका छन् । विप्लवका सैन्य फाँटका नेताहरू पनि धमाधम पक्राउ परेका छन् । विप्लवका ११ जना केन्द्रीय सदस्यहरू पनि पक्राउ परिसकेका छन् । आन्तरिक विवाद र बिकाउ कार्यकर्ताका कारण सूचना चुहिएका कारण विप्लवको पार्टीका ठूला नेताहरू पक्राउ परेका हुन् ।

 विप्लवले आफ्नो कमाण्डमा सशस्त्र युद्धमा जानका लागि सैन्य संरचना बनाएका छन् । उनले आफ्नो प्रभाव जिल्लाहरूमा सैनिक तालिम दिनेदेखि दैनिक सरह परेड गराउन थालेको स्रोतले उल्लेख गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकमा पनि विप्लवलाई सैनिकहरूले सलामी दिनुका साथै परेड देखाएका थिए ।

 स्रोतका अनुसार विप्लवले करिव ३० करोड रुपैयाँ चन्दा उठाएका छन् । यो रकम सरकारसँग युद्ध लड्नका लागि सैन्य संरचना बनाइ रहेको तथा बन्दोबस्तीका सामानमा खर्च भएको एक नेताले बताए । बन्दोबस्तीका सामान खरिदमा प्रकाण्डले ठूलो रकम घोटाला गरेको आरोप विप्लव समूहको छ । विप्लवले प्रकाण्डलाई नचाहँदा नचाहँदै पनि विश्वास गर्नुपरेको छ । विप्लवको पार्टीको संगठन र आर्थिक विभागको जिम्मेवारी प्रकाण्डले हेर्दै आएका छन् ।(यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित