लगातारको पराजयसँगै नेपालको एसिया कप खेल्ने सम्भावना न्यून

anepali team

 काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल छनोट प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया पुगेको थियो ।

नेपालले अब बाँकी तीन खेल क्रमशः मलेसिया, सिंगापुर र हङकङसँग खेल्नु पर्नेछ । बाँकी तीन वटै खेल जित्दा पनि नेपालको अंक ६ मात्र हुनेछ । जबकी नेपाललाई हराएको यूएई र ओमान दुबैले दुई खेलबाट ४÷४ अंक बटुलिसकेका छन् । अब यूएईले मलेसिया र हङकङ तथा ओमानले हङकङ र सिंगापुरसँग खेल्न बाँकी छ । एक खेलमा भने यूएई र ओमान अमनेसामने हुनेछन् ।

त्यसैले एसिया कपमा स्थान बनाउन अघि फाइनल पुग्न पनि नेपाललाई निकै कठिन छ । छनोट प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ ।

युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन ७ बल बाँकी छदा सबै विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो । नेपालका सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

सुवासले ५० र दीपेन्द्रले ४० रन बनाए । नेपालका लागि उच्च स्तरका ब्याट्सम्यान चल्न सकेनन् । कप्तान पारस खड्का १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ४, सागर पुन र आरिफ शेख समान ३÷३ रनमा आउट भए ।

तर, नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी र १०औं नम्बरमा आएका बसन्तले ३४ रनको साझेदारी गर्दै नेपाललाई ठूलो अन्तरको हारबाट जोगाए । सोमपालले अविजित २७ र बसन्तले १२ रन बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित