घिमिरेको इन्ट्रीले प्रचण्ड सशंकित

prachanda_1

 काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा आफ्नो चाहना अनुसार नवीन घिमिरेलाई संवैधानिक परिषद्बाट सर्वसम्मत सिफारिस गरेसँगै ‘नेकपा’का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनमा चिसो पसेको छ ।

 प्रचण्डको रोजाइमा घिमिरे थिएनन् । प्रचण्डले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई अख्तियार प्रमुख बनाउन लविङ गरेका थिए । प्रचण्डको प्रस्तावलाई ओलीले सिधै अस्वीकार गरिदिएका छन् । अख्तियार प्रमुखमा पौडेलको पक्षमा माहोल बनाउन प्रचण्डले दुई दिनसम्म लगातार ओलीसँग बालुवाटारमा वार्ता गरेका थिए ।

 प्रचण्डले ओलीलाई कन्भिन्स गर्न नसक्दा घिमिरले अख्तियार प्रमुख पड्काएको स्रोतको भनाई छ । प्रचण्डलाई लडाकुको शिविरको भ्रष्टाचारको फाइल फेरि पनि उठ्छ कि भन्ने ठूलो चिन्ता छ । माओवादी लडाकु शिविरमा रहँदा तलबभत्तामा मात्र राज्यकोषबाट खर्च भएको ४ अर्ब रुपैयाँमा ठूलो भ्रष्टाचार भएको आशंकामा अख्तियारले थालेको अनुसन्धान तामेलीमा राखिएको थियो । तत्कालिन एमाले भ्रातृसंगठन युवासंघले लडाकु शिविरका लागि सरकारले उपलब्ध गराएको रकममा घोटाला भएको भन्दै छानबिन माग राखेर २०७० असोजमा आयोगमा उजुरी दर्ता गराएको थियो ।

 त्यसको दुई महिनापछि मंसिरमा आयोगले अनुसन्धान अधिकृत तोकेको सम्बन्धित पक्षलाई पत्र काटेपनि यो प्रकरणलाई तामेलीमा राखियो । युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले दर्ता गराएको उजुरीमा प्रचण्ड, नेताहरू बाबुराम भट्टराई, कृष्णबहादुर महरा र लडाकु शिविरका कमान्डरमाथि छानबिन र कारबाहीको माग गरिएको थियो ।

 अहिले तत्कालिन माओवादीका अरु नेताहरु पनि घिमिरेको प्रवेशले चिन्तित बनेको स्रोत बताउँछ । स्रोतले भन्यो–‘अख्तियारमा आफ्नो मान्छे लैजान पाएको भए प्रचण्ड ढुक्क हुने थिए तर, घिमिरेको प्रवेशले प्रचण्डको मनमा चिसो पसेको छ ।’ अख्तियार प्रमुखमा घिमिरेलाई सिफारिस गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सन्तुष्ट रहेको बुझिएको छ । घिमिरेलाई सिफारिस गर्नुभन्दा पहिला ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर सहमतिको माग गरेका थिए । त्यस बेला ओलीले अख्तियारमा खाली हुने अबको सदस्य कांग्रेसलाई दिने भनेर देउवासँग सहमति गरेको स्रोतको भनाइ छ ।
पूर्व गृहसचिव समेत भइसकेका घिमिरेले प्रशासन र भ्रष्टाचारको क्षेत्रमा के–के भइरहेको छ भनेर धेरै जानकार रहेको हुँदा उनलाई नै सिफारिस गरिएको नेकपाका एक नेताले बताए । घिमिरेसँग रक्षा, वन, भूमिसुधार र गृह मन्त्रालयमा सचिवको रुपमा काम गरको अनुभव छ । २०७० सालको चुनावी सरकारमा पूर्व मुख्यसचिव माधवप्रसाद घिमिरे गृहमन्त्री भएको बेला नविन घिमिरे सचिव थिए ।
त्यसो त २४ वर्षअघि ओली गृहमन्त्री हुँदा उनले घिमिरेलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएका थिए ।

 २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरेको कार्यकाल सोही मितिबाट गणना हुने भएकाले अख्तियारको प्रमुख आयुक्तको रुपमा उनको कार्यकाल २ वर्षमात्र हुनेछ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला संवैधानिक परिषदको अध्यक्ष हुँदा तत्कालिन एमालेका अध्यक्ष ओलीकै चाहनामा घिमिरे आयुक्त सिफारिस भएका थिए । त्यो बेला दलहरुबीच भागबण्डा हुँदा घिमिरे तत्कालिन एमालेकै कोटाबाट परेका थिए ।
२०३५ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका घिमिरे इलाम, मोरङ र उदयपुरको स्थानीय विकास अधिकारी भएका थिए । घिमिरेलाई ओलीको चाहना अनुसार ल्याइएपछि पूर्वएमाले भित्र खुसीयाली छाएपनि पूर्व माओवादी केन्द्र भित्र त्यसको खासै प्रभाव परेको छैन ।

 घिमिरे प्रमुख आयुक्त भएपछि अख्तियारमा एकजना आयुक्तको पद रिक्त भएको छ । उक्त पदका लागि हाल गृहसचिव रहेका प्रेमकुमार राईलाई नियुक्ति गर्ने तयारी समेत भएको छ । पूर्व एमाले निकट राईलाई पनि अख्तियारमै लगियो भने प्रचण्डलाई थप झट्का लाग्ने निश्चित छ । तर, उक्त कोटा कांग्रेसको कोटामा परेको हुँदा राईले कांग्रेलाई रिझाएको खण्डमात्र उनी अख्तियार पुग्नेछन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित