पद खुस्किने भएपछि पौडेलले रोके बैठक

bishnu-paudel

 काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र महासचिव विष्णु पौडेललाई हटाउन शुरु भएका गोप्य बैठकहरुका कारण स्थायी समितिको बैठक प्रभावित बनेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले स्थायी समितिको बैठक बोलाउन महासचिव पौडेललाई निर्देशन दिएका थिए ।

 पौडेलले स्थायी समिति बैठक पनि बोलाएका थिए । स्थायी समिति बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले महासचिवबाट पौडेललाई हटाउन प्रस्ताव राख्ने तयारी गरेका थिए । आफूविरुद्ध प्रस्ताव आउने थाहा पाएपछि महासचिव पौडेलले स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित गरेको स्रोतले जनाएको छ । नेपाल र खनाल समूहले स्थायी समितिमा प्रस्ताव राखेर पौडेललाई जसरी पनि महासचिव पदबाट हटाउने योजना बनाएका थिए । पौडेलका विरुद्ध स्थायी समितिमा बहुमत रहेको स्रोतको दाबी छ ।

 महासचिवमा भीम रावलले जाने इच्छा देखाएका छन् । ईश्वर पोखरेलले पनि महासचिवमा लोभ देखाएका छन् । तर, उनले पाउने सम्भावना छैन । उपप्रधान एवम् रक्षामन्त्री रहेकाले सो पद पोखरेलले पाउने छैनन् । नेकपाका प्रभावशाली नेता रावलले आफ्नो पक्षमा माहोल बनाउन प्रधानमन्त्री एवम् अध्यक्ष ओली तथा दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर महासचिव बन्ने इच्छा जनाएको स्रोतको भनाइ छ ।
महासचिवमा नियुक्त भएपछि पौडेलले विरोधी समूहलाई पाखा लगाउने काम गरेपछि नेपाल र खनाल समूहले विरोध गर्दै आएको छ । पौडेलकै कारण तत्कालीन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता समायोजन प्रक्रिया प्रभावित भएको नेकपाका एक नेता बताउँछन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित