पारवहनमा भारतको एकाधिकार तोडियो, चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने सम्झौता
काठमाडौं । नेपालबाट तेस्रो मुलुकमा हुने व्यापारका लागि भारतीय बन्दरगाह मात्र उपयोग गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल)लाई अन्तिम रुप दिँदै चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने समझदारी बनेको हो। बुधबार र बिहीबार रातिसम्म चलेका दुई देशका उच्च सरकारी अधिकारीबीच यस्तो समझदारी बनेको हो।
बैठकपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘बैठकमा तस्रो मुलुकबाट चीन हुँदै नेपालमा बस्तु आयात गर्दा प्रयोग हुने खुला सामुन्द्रिक बन्दरगाहरु, सुख्खा बन्दरगाह र ती बन्दरगाहरुबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायतका पारवहन सम्बन्धी विविध विषयहरुमा छलफल भई प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिइएको छ ।’
मन्त्रालयका अनुसार प्रोटोकलमा नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव रवि शङ्कर सैँजु र चीनका तर्फबाट यातायात विभागका महानिर्देशक वाङ सिपिङले हस्ताक्षर गरेका छन्। छिमेकी भारतको नाकाबन्दी लगत्तै भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा पारवहन सम्झौता भएको थियो।
अहिले नेपालले तेस्रो मुलुकसँगको बस्तु आयातमा भारतको कोलकाता बन्दरगाह प्रयोग गर्दै आएको छ। वैठकमा तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने तीअनजीन, सेनजेन, लिआनयुङाङ, झान्जीआङ लगायतका खुला सामुन्द्रिक बन्दरगाहहरु लानजउ, लासा, सिगाच्छे लगायतका सुख्खा बन्दरगाहहर र ती बन्दरगाहहरुबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम ढुवानी प्रक्रिया लागायतक पारवहन सम्बन्धी विविध विषयहरुमा छलफल भई प्रोटोकलको मस्यौदालार्ई अन्तिम रुप दिइएको हो ।
त्यस्तै नेपालका बस्तुहरु चीन हुदै तेस्रो मुलुक निर्यात तथा आयात गर्नका लागि समेत सामुन्द्री तथा सुख्खा बन्दरगाह खुला भएको छ ।
प्रतिक्रिया