नेपालले चीन र पाकिस्तानसँगकाे सम्बन्ध पनि बिगार्नु हुँदैन

kumar bhandari

 सार्क सम्मेलन पाकिस्तानमा हुन नदिएर भारतले ठूलो बद्नाम खेप्दै आएको छ । सार्क सम्मेलनमा पाकिस्तान सहभागी भएपछि भारतलाई पहिला देखिनै टाउको दुखाइ बन्दै आएको थियो । भारतले पाकिस्तानका कारण सार्क सम्मेलनमा आउन नसक्ने जनाएपछि अबरुद्ध हुँदै आएको छ ।

सार्कलाई ओझेलमा पार्ने गरेर भारतले बिमस्टेक सम्मेलनलाई बढावा दिएको छ । भारतकै योजना र दवावमा नेपालले बिमस्टेक सम्मेलन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कलाई भन्दा पनि बिमस्टेक सम्मेलनलाई प्राथमिकता दिन खोजेको देखियो ।

भारतले जहिले पनि पाकिस्तानलाई अन्तर्राष्ट्रिय फोरमहरूमा एक्ल्याउन चाहन्छ । भारतको चाहनाअनुसार नेपालका प्रधानमन्त्री केपी ओलीले पनि बिमस्टेक सम्मेलनलाई महत्व दिएको आरोप छ । यदि यस्तै अवस्था रहने हो भने दक्षिण एसियामा भारतको दवदवा झन् बढ्नेछ र साना देशहरूलाई महत्व दिनेछैन । आफू अनुकुल प्रयोग गर्नेछ ।

पाकिस्तातलाई एक्ल्याउन मात्रै होइन भरतले चीनलाई पनि बिमस्टेकमार्फत धम्की दिने प्रयास गरेको छ । भदौको अन्तिम साता बिमस्टेक राष्ट्रका देशहरूको संयुक्त सैन्य अध्यास गरेर चीनसँगको बदला लिन पनि भारतले चाहेको छ । भारतले नेपालका प्रधानमन्त्री ओलीलाई प्रयोग गरेर आफ्ना उदेश्यहरू क्रमशः पूरा गर्दै गएको छ ।

नेपालले बिमस्टेकलाई भन्दा पनि सार्क सम्मेलनलाई महत्व दिनुपर्ने हो । भारतको दवाव अगाडि नेपालको पनि केही लागेको छैन । बिमस्टेक सम्मेलनले नेपालसँग चीन र पाकिस्तान टाढिने खतरा उत्तिकै छ । चीनले नेपाललाई विश्वास नगरिरहेको बेला बिमस्टेक सम्मेलनले झन् अविश्वास पैदा गरिदिएको चर्चा छ ।

प्रधानमन्त्री ओलीले पनि बिमस्टेक सम्मेलनलाई महत्व दिएको चीनको बुझाइ छ । चीनले बिमस्टेकलाई धेरै रुचाएको छैन । राजनीतिक विश्लेषकहरूले आफ्नो स्वार्थपूर्ति गर्न भारतले बिमस्टेक मार्फत नेपालका प्रधानमन्त्री ओलीको काँधमा बन्दुक राखेर गोली पड्काएको चर्चा हुन थालेको छ । नेपालले कुटनीतिक पहलमार्फत चीन र पाकिस्तानलाई समदुरीमा राख्न सक्नुपर्छ । 

प्रतिक्रिया

सम्बन्धित