असोज १२ बाट सुपथ मूल्यका पसल

supat pasal

 काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैं तिहार र छठ पर्वलाई ध्यानमा राखेर काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । आगामी असोज १२ गतेदेखि ४७ वटा सुपथ मूल्यका पसल खुल्नेछन् । यसरी खुल्ने पसल कात्तिक २७ गतेसम्म चल्नेछन् । दशैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको आपूर्ति मन्त्रालयले जनाएको छ ।

साल्ट ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोल्नेछन् । तीनवटै संस्थानले कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर, ललितपुरमा एकीकृत पसल चलाउने तयारी गरेका छन् ।

यी पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मतीमा १०, खसीबोका च्यांग्रामा १०, नुनमा २, डिडिसी घ्युमा ५० र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट दिने निर्णय भएको छ ।

यस्ता पसलमा दाल, चामल, चिनी, मैदा, सुजी, दाल र सोयाविन तेलमा छुट दिइने छ । खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी सुपथ मूल्यमा उपलब्ध गराउनेछ ।

खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्नेछ । यस्तै साल्ट ट्रेडिङले काठमाडौंमा ९ वटा आफ्नै डिपोहरुमा पसल चलाउनेछ भने उपत्यकाबाहिर २२ वटा डिपो र घुम्ती पसल गरेर ३६ वटा सुपथ मूल्यका पसल चलाउने योजना तयार भएको छ । उपत्यकामा ३ वटा मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्‍याउने व्यवस्था गरिएको छ ।

त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालन आउने छन् ।

प्रतिक्रिया

सम्बन्धित