१ खर्ब १६ अर्ब लगानीमा तीन वर्षमा काठमाडौंमा मोनोरेल

monorel

 काठमाडौं। चिनियाँ कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) ले काठमाडौं उपत्यकाको चक्रपथमा मोनोरेल सञ्चालन गर्नेबारे काठमाडौं र ललितपुर महानगरपालिकालाई प्रारम्भिक सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गरेको छ।

काठमाडौं र ललितपुर महानगरका मेयरद्वय विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनलाई सिआरसिसीका महाप्रबन्धक झाउ सिआओले आज रेल निर्माणसम्बन्धी प्रारम्भिक सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदनमा मोनोरेलको लागत १ खर्ब १६ अर्ब अनुमान गरिएको छ भने मोनोरेलका लागि आवश्यक संरचना तयार गर्न ३ वर्ष लाग्ने उल्लेख छ। तीन चरणमा निर्माण गर्नेगरी सम्झौता गर्दा उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ।


१७ वटा स्टेसन रहने मोनोरेल प्रतिघन्टा १०० किलोमिटर गतिमा गुड्नेछ। जुन एक पटकमा ३ हजार यात्रु बोक्ने क्षमताको रहने छ। मोनोरेल प्राविधिक, भौगोलिक, वातावरणीय र आर्थिक रुपमा सम्भाव्य देखिएको पनि बताइएको छ।

प्रतिवेदनका अनुसार कोटेश्वर–कलंकी, कलंकी–महाराजगन्ज र महाराजगन्ज–कोटेश्वर खण्ड गरी तीन चरणमा संरचना निर्माण गर्नेगरी काम अगाडि बढाउन उपयुक्त हुने सिआरसिसीले जनाएको छ। उपत्यकामा मोनोरेलको सम्भाव्ता अध्ययनका लागि भन्दै गत जेठ ११ मा चिनियाँ कम्पनी सिआरसिसीलाई जिम्मा दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित