अमेरिका–चीनबीचकाे व्यापार युद्ध झन चर्कियो

america china

 काठमाडौं । अमेरिकाले फेरि २०० अर्ब डलर बराबरको चिनियाँ उत्पादनमा थप आयात शुल्क लगाएपछि दुई देशबीचको व्यापार युद्ध झन चर्किएको छ । यो आयात शुल्क ५ हजार भन्दा बढी बस्तुहरुमा लगाइएको हो । यो शुल्क हालसम्म लगाइएको मध्ये सबैभन्दा धेरै पनि हो । यसमा ह्याण्ड ब्याग, कपडा, चामल लगायतका बस्तु सामेल छन् । तर, स्मार्ट घडी र प्ले पेनमा भने अतिरिक्त शुल्क लगाइएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेपछि दुई आर्थिक महाशक्तिबीच जारी व्यापार युद्ध थप चर्किएको विश्लेषण गरिएको छ । राष्ट्रपति ट्रम्पले सोमबार सेप्टेम्बर २४ देखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा थप दश प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।

चीनले अमेरिकी माग पूरा नगरे आगामी जनवरी १ देखि भन्सार शुल्क २५ प्रतिशत पुर्‍याउने पनि उनले घोषणा गरेका छन्। अमेरिकाले आफ्नो बजारमा चिनियाँ उत्पादन र कम्पनीलाई दिएको प्रवेशसरह नै अमेरिकी उत्पादनलाई चिनियाँ बजारमा प्रवेश दिनुपर्ने माग गर्दै आएको छ।

यसअघि नै अमेरिका तथा चीनले एक अर्काका ५० अर्ब डलर बराबरका उत्पादनमा भन्सार शुल्क बढाएका थिए। अमेरिकाले ५० अर्ब डलर बराबरको चीनबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाएपछि चीनले पनि त्यति नै मुल्य बराबरको अमेरिकी आयातमा भन्सार शुल्क बढाएको थियो।

यसपालि पनि चीनले अमेरिकी शुल्कको प्रतिवाद गर्दै अमेरिकी सामानमा पनि शुल्क लगाएको खण्डमा थप २ सय ६७ अर्ब बराबरको चिनियाँ सामानमा शुल्क बढाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन्।

अमेरिकाको चीनसँग संसारकै सबैभन्दा ठूलो ३ सय ७५ अर्ब डलरको व्यापार घाटा छ। अमेरिकाले चीनसँग अघिल्लो वर्ष ५ सय ५ अर्ब डलरको सामान खरिद गरेको थियो भने १ सय ३० अर्बको मात्र सामान चीनमा निर्यात गरेको थियो।

चीनले विदेशी कम्पनीलाई मिडिया, टेलिकम, अटोमा लगानी प्रतिबन्ध लगाउँदै आएको छ। चीनले विदेशी कम्पनीलाई आफ्ना स्थानीय कम्पनीसँग साझेदार गर्न र प्रविधि हस्तान्तरण गर्न बाध्य पार्दै आएको आरोप अमेरिकाको छ।चिनियाँ निर्यातका लागि अमेरिका सबैभन्दा ठूलो बजार हो भने अमेरिकी सामानका लागि चीन तेश्रो ठूलो बजार हो।

प्रतिक्रिया

सम्बन्धित