माओवादी केन्द्रले मन्त्रीलाई फिर्ता नबोलाउने, सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने

काठमाडौँ। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता नबोलाउने भएको छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउने तथा संविधान कार्यान्वयन गराउने दायित्वका साथ सरकार गठन भएको ठहर गर्दै सो कार्यभारबाट विमुख हुन नहुने निष्कर्ष निकालेको छ ।बैठकमा निर्वाचनको संघारमा नै प्रधानमन्त्रीले उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको निष्कर्ष निकालेको छ ।

  निर्वाचन सम्पन्न गराउन पार्टी सरकारबाट हट्ने भन्ने कुरा हुन नसक्ने जनाउँदै माओवादी केन्द्रले निर्वाचन सम्पन्न गराउने शर्तमा मात्रै आफू सहभागी भइरहन जरुरी रहेको बताएको छ । एमालेसँग वाम गठबन्धन गर्ने निर्णयपछि नेपाली काँग्रेसले माओवादीले नैतिकताका आधारमा सरकार छाडिदिनुपर्ने बताउँदै आएको थियो ।

  प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सरकार विस्तार गरेपछि माओवादी केन्द्र सरकारमा रहने कि नरहनेमा भन्नेमा दुविधा देखिँदै आएको थियो । प्रधानमन्त्रीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री र अन्य तीन नेतालाई मन्त्री बनाउने निर्णय गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित