किन उठाएनन् मन्त्रीले ह्यात होटलको नाफा ?

rabindra-adhikaari

 काठमाडौं । तारागाँउ रिजेन्सी होटल (ह्यात) को सेयर विक्री गर्दा कमिसन खाएको आरोप लागेका संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी होटलबाट नाफा उठाउन असफल भएका छन् । ह्यात होटलले बर्षेनी २५ करोडभन्दा बढी नाफा गरिरहेको छ । तर, होटलले आफ्ना मजदुरलाई तिर्नुपर्ने पैसा, होटल संघ नेपाल (हान) लाई तिर्नुपर्ने बार्षिक शुल्क तथा सेवा शुल्क बापत संकलनबाट तोकिएको शुल्क बर्षोसम्म नतिरेको पाइएको छ ।

 होटलले बर्षेनी २५ करोड भन्दा बढी नाफा गरिरहेको भएपनि होटलमा सरकारले गरेको लगानीको प्रतिफल सधै शून्य नै छ । सरकारले निजी क्षेत्रसँगको साझेदारीमा १७ करोड रुपैयाँ २ दशक अगाडि नै लगानी गरेको यो होटलले कुनै प्रतिफल दिएको छैन । सरकारले प्रतिफल नपाए पनि मन्त्री अधिकारीले ठूलो आर्थिक लाभ लिएको स्रोतको दावी छ ।

 होटलमा सरकारको तर्फबाट लगानी रहेको ३९ प्रतिशत सेयर पनि घटेर ९ प्रतिशतमा झरेको छ । होटलमा भारतीय लगानीकर्ता राधेश्याम सराफसहित चार तहको सेयर संरचना रहेको छ । होटेलका सराफ र रामलाल श्रेष्ठसहितका सञ्चालक, तारागाँउ विकास समिति, सर्वसाधारण र विभिन्न वित्तीय संस्थाको ऋणलाई सेयरमा रहेको छ ।

 यो होटलले वर्षेनी गर्ने नाफाबाट न सर्वसाधारणलाई प्रतिफल दिन सकेको छ न सकारलाई लाभ दिएको छ । होटल व्यवस्थापनले आपसी मिलेमतोमै होटल चलाएको र भएकै नाफा आफैंले मात्रै खाइरहेको छ होटलले गत आर्थिक वर्ष ०७४/०७५ मा २५ करोड ७० लाख ६१ हजार ८९९ रुपैयाँ मात्र खुद मुनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ७ लाख ७२ हजार ४०६ रुपैयाँ खुँद नाफा कमाएको थियो । होटलको यो नाफा अघिल्लो वर्षको तुलनामा ३ करोड घटेको उल्लेख छ । होटलले २०७३/७४ मा कुल बिक्री १ अर्ब ४२ करोड रहेको र त्यसबाट २८ करोड खुँद नाफा भएको उल्लेख छ ।

 नेपालमा पर्यटन आगमन सन् २०११ पनि निरन्तर बढिरहेकाले होटल तथा पर्यटन क्षेत्रबाट हुने लाभ पनि बढिरहेको छ । नेपालमा सञ्चालित पाँचतारे होटल निरन्तर नाफामा गइरहेका छन् । तर, सरकार तथा सर्वसाधारणको ७४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत यो पाँचतारे होटल ह्यायत रिजेन्सीले भने आन्तरिक प्रतिवेदन मिलाएर सरकार तथा सर्वसाधारण लगानीकर्ता ठगिरहेको छ ।

 होटलमा लगानी गरेका ७४ लाख कित्ता शेयरका धनी सर्वसाधारणसहितका छन् । होटल स्थापना भएको २० वर्षसम्म पनि होटलले लाभ दिन नसकेको होटल निरन्तर घाटामा गएको र सञ्चालक तथा भारतीय लगानीकर्ताले मात्रै अधिक मुनाफा र लाभ लिइरहेका छन् । होटलमा भएको सरकारी लगानी ३९ प्रतिशतबाट ९ प्रतिशतमा झर्नु र सर्वसाधारणले पनि होटलमा गरेको लगानीबाट प्रतिफल नपाउनुले यो होटल पछिल्लो समय पटक–पटक विवादमा आएको छ ।

 २०४९ सालमा होटल स्थापना अघि भएको सम्झौताअनुसार होटलमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड र निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लगानी रहेको उल्लेख छ ।

 कुल लगानीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ प्रतिशत लगानी थियो । अहिले होटलको सेयर संरचना पटकपटक परिवर्तन भइसको छ । होटलले पछिल्लो विवरणमा बैंक तथा वित्तीय संस्थाको सेयर ५४.७३ प्रतिशत देखाएको भए पनि यो सेयर सबै सराफसहितको टोलीले खरिद गरिसकेको उल्लेख छ ।
तारागाँउ होटलले गत भदौ ३ गते सार्वजनिक सूचना जारी गरेरै पछिल्लो समय होटलमा सरकारी समितिको ९.१, संयुक्त लगानी साझेदार (राधेश्याम सराफ र श्रेष्ठसमूह)को २६.८, सर्वसाधारणको १०.१८ र बैंक तथा वित्तीय संस्थाको ५४.७३ प्रतिशतको शेयर संरचना देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित