सुरक्षामा जुट्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६२औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । सीमित स्रोत, साधनका बाबजुद प्रहरीले देशमा शान्ति सुरक्षा स्थापना गर्न खेलेको भूमिका सराहनीय रहेको बताउँदै प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका प्रहरीका परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको तथा त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए । प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रुपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरुप काम भइरहेको पनि उनले जानकारी दिए । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ट भएर सेवा प्रदान गर्न झक्झक्याउने बताए । कार्यक्रममा प्रधानमन्त्री देउवाले यसवर्ष कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका २५ जना प्रहरी कर्मचारीको सम्मानमा उनिहरुका परिवारजनलाई कदरपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित