प्रहरीलाई ठुलो सफलता, १३ बर्ष अगाडि पाँच जनाको हत्या गर्ने अभियुक्त सार्वजनिक

policesafal

 काठमाडौं । प्रहरीले १३ बर्ष अगाडि नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारको हत्याका मुख्य अभियुक्त पक्राउ गर्न सफल भएको छ । २०६२ फागनु २३ गते हेमाकर परिवारका सदस्य गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार र पसलमा काम गर्ने १५ वर्षे रामसनिश्चर चौधरीको हत्या भएको थियो।

 हत्याका मुख्य अभियुक्त भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार घर भई लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए। सोनी हत्या गरिएका दीपकका सहोदर ससुरा हुन्।

 उनलाई बाँकेस्थित नेपाल-भारत सीमानाका जमुनाहबाट पक्राउ गरिएको एसपी पौडेलले जानकारी दिए। उनीहरूको हत्या गरी २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहनासमेत लुटिएको थियो। प्रहरीको १३ वर्ष लामो अनुसन्धानपछि सोनी पक्राउ परेका हुन्।

 सोनीको योजनामा २३ फागुन, २०६२ मा नेपालगन्जस्थित सदरलाइनमा न्यू दीप ज्वैलर्स सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपकसँगै उनका ८२ वर्षीया हजुर आमा गुलावादेवी हेमकार, ६२ वर्षीय बुवा जगदेव हेमकार, ४५ वर्षीय आमा सीतादेवी हेमकार र ज्वैलर्समा कार्यरत कामदार बाँके साविक खासकुश्मा गाविसका राम शनिच्चर चौधरीको घाँटी रेटी हत्या भएको थियो। प्रहरीका अनुसार हेमकार परिवारको सुतिरहेको ठाउँमा घाँटीमा धारिलो हतियारले रुद्रघण्टी काटेर हत्या गरिएको थियो। दीपकका ससुरा सोनीले सम्पत्तीका लागि सहोदर ज्वाइ, सम्धी, सम्धीनीको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

 ज्वाइँका हजुरआमाले सोनीलाई चिन्ने भएकोले ८२ वर्षीया गुलावादेवीको समेत हत्या गरेको प्रहरीले जनाएको छ। हत्या भएका बेला घरको अगाडि तथा पछाडि ढोका बन्द रहेको थियो भने घरको पछाडि साडी झुण्ड्याएको अवस्थामा रहेको प्रहरी मुचुल्कामा उल्लेख छ। ‘घटनास्थल रहेको घर दुई तलाको रहेकोमा माथिल्लो तलामा सम्पूर्ण व्यक्तिको हत्या भएको थियो।

 घरको कोठामा सरसामान तथा सुनचाँदीका गरगहना समेत रहेका थिए,’ एसपी पौडेलले भने। हत्या भएका व्यक्तिको मृत्युपश्चात् निजहरूको नाममा दर्ता श्रेस्ता रहेको सम्पूर्ण जग्गा मृतक दीपककी पत्नी दीपा हेमकारको नाममा १४ जेठ, २०६३ नामसारी भएको थियो। परिवारका चार जनाको हत्यापछि सम्पत्ती सोनीकी छोरी दीपाले आफ्नो नाममा पास गराएर  बिक्री गरेपछी प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित