प्रहरी कर्मचारी कुनै पनि घटनाको कारक बन्न हुँदैन : आईजीपी खनाल

igpkhanal

 सोलुखुम्बु। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएकाले उनीहरुकै सुरक्षाका लागि हरहमेसा कटिबद्ध भई निस्वार्थ सेवा दिनुपर्ने वताएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको मंगलबार उदघाटन गर्दै आईजीपी खनालले नेपाल प्रहरी विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।

 आईजीपी खनालले प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा अझै सुधार गर्नुपर्ने वताउँदै विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन समेत दिए। आईजीपी खनालले प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्न नहुने पनि वताए ।

   कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले मुलुकको नयाँ संघीय संरचनासँगै उर्लेका अपेक्षा र आकाङ्क्षालाई पूरा गर्न शान्ति, समृद्धि र विकासमा जोड दिनुपर्ने उल्लेख गर्दै यसका लागि सुशासनको आवश्यकता पर्ने बताए ।

 १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु लगायत स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।  उक्त भवन ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित