प्रचण्डको परिधि खुम्चिदै

prachanda1

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालको उपचार गराउन बेला–बेलामा सिंगापुर लैजाने गरेका छन् । नेपालको उपचार पद्धतिमाथि प्रचण्डलाई विश्वास नभएर हो वा नेपालमा उपचार असम्भव भएर हो ? उनले बेलाखत सिंगापुर लैजादै आएका छन् ।

 आफ्नो उपचार पनि प्रचण्डले दिल्ली र सिंगापुरमै गराउने गरेका छन् । प्रचण्ड एक वर्षदेखि पारिवारिक तनाबमा छन् । पुत्रवियोगको शोकमा जीवन संगिनी सीताको रोग थपिएको छ । हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायमान नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । सीता दाहाल आठ महिनादेखि थलिएकी छिन् । १० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँगै छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । सीताले प्रचण्डलाई लैजान जोडबल गरिन् ।

 पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसमेत देशवाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारको लागि सिंगापुर गएका थिए । पत्नीको बिरामी अबस्थाले प्रचण्डलाई पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भइरहेको छ । तैपनि प्रचण्ड राजनीतिमा सक्रिय हुन चाहन्छन् । २०७४ को दशैंअघि पहिलोपल्ट गम्भीर बिरामी परेकी सीता छोरा प्रकाशको निधनपछि झन् बिरामी हुँदै गएकी छन् ।

 स्रोतका अनुसार सिंगापुरस्थित एमटी एलिजावेथ अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) पुष्टि गरेका छन् । यो मस्तिष्कमा लाग्ने रोग हो । यसका सुरुआती लक्षण अल्जाइमर्स र पार्किन्सन्सजस्तै लाग्छन् । पीएसपीका बिरामीले शारीरिक अन्तुलन गुमाई पछाडितर्फ लड्ने, पुराना कुरा विर्सने र अररो हुनेजस्ता लक्षण देखाउँछन् । चिकित्सकहरु पीएसपीको औषधिले केही वर्षका लागि मात्र प्रभावकारी काम गर्ने दावी गर्छन् । तर, नियमित औषधि, व्यायाम र सन्तुलित आरामले बिरामीको आयू बढाउन सकिने चिकित्सकहरुको भनाई छ ।(यूनाइटेड पोस्ट साप्ताहिक )

प्रतिक्रिया

सम्बन्धित