पहिलो खेलमै सन्दीपको २ विकेट, सिकन्दर राजा शून्य रनमै आउट

sandeep

  काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले आफ्नो डेब्यु खेलमै उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका हुन् । नगरहर लिओपार्डमा अनुबन्धित सन्दीपले पक्तिया प्यान्थर्सविरुद्ध २ विकेट लिएका हुन् । प्यान्थर्सविरुद्ध ४ ओभर बलिङ गर्दै सन्दीपले २३ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका हुन् ।

आफ्नो पहिलो ओभरमा सन्दीप महंगो सावित भएका थिए । उनले पहिलो ओभरमा १८ रन खर्चेका थिए । आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दीपले उत्कृष्ट पुनरागमन गर्दै १ रन मात्रै दिएका थिए । त्यसपछि आफ्नो तेस्रो ओभरमा भने सन्दीपले चमत्कारीपूर्ण प्रदर्शन गरे । उनले यो ओभरमा २ रन खर्चेर २ विकेट लिए ।

यो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका क्यामरुन डेल्पोर्टलाई ६ रनमा आउट गराए । यही ओभरको अन्तिम बलमा सन्दीपले अनुभवी खेलाडी जिम्बाब्वेका सिकन्दर राजालाई शून्य रनमै आउट गराएपछि सन्दीपको चर्चा चुलिएको छ ।

सन्दीपले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए पनि उनको टिमले भने जित्न सकेन । सन्दीपको टिम नगरहर लिओपार्ड पक्तिया प्यान्थर्ससँग ७ विकेटले पराजित हुन पुग्यो । नगरहरले दिएको १२७ रन को सामान्य चुनौति प्यान्थर्सले १४।४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित