गौचन हत्या प्रकरण : प्रविधिमा प्रहरीभन्दा अपराधीहरू अगाडि

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सोमबार गोली हानेर हत्या गरेपछि देशका ठूला निर्माण व्यवसायीहरूलाई फोन आयो । गौचनकै जस्तो हालत बनाइदिने भन्दै फोन गर्नेहरूले निर्धक्क करोड रुपैयाँ माग्दै धम्क्याएका छन् ।

 यसबाट देशका व्यवसायीहरू आतंकित भएका छन् । गौचनको हत्या गर्नेहरूले प्रहरी अधिकारीहरूलाई फोन गरी घटनाको जिम्मेवारी लिए । प्रहरीले उनीहरूको फोन सुन्नेबाहेक केही गर्न सकेको छैन । धम्की दिनेले प्रहरीले पत्ता लगाउन नसक्ने गरी इन्टरनेट कलमार्फत फोन गरेका छन् । इन्टरनेट कलको अनुसन्धान गर्ने प्रविधि नेपाल प्रहरीस“ग छैन । प्रविधिमा प्रहरीभन्दा अपराधीहरू अगाडि हुँदा प्रहरी निरीह बन्न पुगेका छ । ‘पटक–पटक नो कलर आइडीबाट धम्कीपूर्ण फोन आइरहेको छ,’ आपराधिक समूहबाट धम्की खेप्नेमध्ये एक कांग्रेस नेता जिपछिरिङ लामा भन्छन्, ‘कसले फोन गरेको हो, थाहा छैन ।’ काठमाडौं, बुटवल, पोखरा र चितवनका दर्जनौँ व्यवसायीलाई इन्टरनेट कलमार्फत फोन गर्दै पैसा मागिएको छ । कतिपय व्यवसायीले डराएर पैसा बुझाएकासमेत छन् ।

 तर, एक वर्षदेखि त्यसरी पैसा असुल्ने समूहलाई प्रहरीले पहिचान गर्न सकेको छैन । उनीहरूले हुन्डीमार्फत दुबईमा पैसा लिने गरेको स्रोत बताउँछ । ‘हामीसँग इन्टरनेट कलको अनुसन्धान गर्ने प्रविधि छैन,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी भन्छन्, ‘जसकारण हामीले त्यसको अनुसन्धान गर्नसकेका छैनौँ ।’ इन्टरनेट कल मात्र होइन, भाइबर, इमो, ह्वाट्सएपजस्ता प्रविधिबाट हुने फोनको अनुसन्धान गर्ने प्रविधिसमेत नेपाल प्रहरीसँग छैन ।

  जसकारण अपराधीहरू प्रहरीभन्दा बलिया हुँदै गएका छन् । यसले सिंगो देशको सुरक्षा व्यवस्थामै चुनौती थपेको छ । सोमबार हत्या गरिएका व्यवसायी गौचनलाई पनि यस्ता फोनबाट धम्की आउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । भारतमा बसेर नेपालमा धम्की र असुली आतंक मच्चाउँदै आएको मनोज पुनकै समूहले त्यसरी धम्क्याउँदै पैसा असुलिरहेको प्रहरीको भनाइ छ । २४ घन्टा बित्दा पनि प्रहरीले आक्रमणकारी चढेको मोटरसाइकल नम्बरसमेत पत्ता लगाउन सकेको छैन ।

 आक्रमणकारीहरू शान्तिनगरको प्रयागमार्गमा गौचनको हत्या गरेपछि रातो रङको पल्सर मोटरसाइकलमा चढी भागेका थिए । सो स्थानमा सिसिटिभी नभएकाले मोटरसाइकल नम्बर पत्ता नलागेको हो । घटनास्थलमा तीनजना आक्रमणकारी थिए । दुईजना एउटा मोटरसाइकलमा भागेको र अर्को व्यक्ति कता भागेको भन्नेसमेत पत्ता लागेको छैन । प्रहरीको कमजोर सूचना संयन्त्रका कारण गौचनको हत्या भएको आरोप लागेको छ । एक समूहले काठमाडौंमा व्यवसायीको हत्याको तयारी गरिसकेको पूर्वसूचना पाउँदा पनि त्यहीअनुसार सुराकी परिचालन गर्न नसक्दा गौचनको हत्या भएको हो ।नयाँ पत्रीकामा खबर छ

प्रतिक्रिया

सम्बन्धित