राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको पूजा एवं प्रसाद ग्रहण

Nawa Durga -Mahesh
भक्तपुर ।
बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छन् ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरेर प्रसाद ग्रहण गरेकी हुन् । नवदुर्गाका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद प्रदान गरे भने अर्का पुजारी इन्द्रबहादुर वनमालाले नवदुर्गाको प्रसाद फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरे ।
राष्ट्रपतिले ५०५ दक्षिणा प्रदान गर्दै आएकामा यस वर्ष भने दक्षिणा दोब्बर पाएको देवगणले बताएका छन् । नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करीब १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै सङ्कटमा परेको देवगणले गुनासो गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाइदिन आग्रह गरेकी थिइन् । उनले तलेजुका समस्याका बारेमा समेत जानकारी गराएका थिए ।

Nawadurga 1-Mahesh
राष्ट्रपति भण्डारीले भक्तपुरका सांसद महेश बस्नेतलाई समस्या बुझ्न र समाधान खोजिदिन आग्रह गरेको र प्रदेश तथा स्थानीय सरकार एवं प्रमुख जिल्ला अधिकारीमार्फत समस्याको समाधान गर्न सकिने सुझाव दिएकी थिइन् । ।
राष्ट्रपति भण्डारीलाई न्यूनदृष्टियुक्त ध्वंसि शाक्य र कृष्णराम चित्रकारले तयार पारेको राष्ट्रपतिको मुहारचित्र प्रदान गरेका थिए ।
राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सांसद महेश बस्नेत, प्रदेशसभाका सदस्यद्वय शशिजंग थापा, डा राजेन्द्रमान श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, गुठी कार्यालयका प्रमुख, सरकारी कार्यालयको कर्मचारी लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित