जथाभावी रकम नबाँड्न अर्थ मन्त्रालयलाई अख्तियारको निर्देशन

ciaa

   काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जथाभाबी पैसा नदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। तयारी बिनाका आयोजनालाई स्रोत सुनिश्चितताका नाममा रकम दिएर उल्टै आयोजनाहरु अलपत्र भइरहेको भन्दै अख्तियारले रकम नदिन निर्देशन दिएको हो । बजेटको जथाभाबी वितरण भइरहेकोप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै बजेट विनियोजनमा ध्यान पुर्‍याउन निर्देशन दिएको अख्तियारले जनाएको छ ।

अख्तियारका सचिव महेश्वर न्यौपानेले भने–‘तयारी बिनाका कार्यक्रममा स्रोत सुनिश्चितताका नाममा पैसा दिने निर्णय गर्ने र त्यसको उपलब्धि पनि नहुने गरेकोप्रति आयोगको ध्यानाकर्षण भएकाले त्यस विषयमा ध्यान दिन भनिएको हो ।’

अध्ययन र तयारी बिनाका आयोजनालाई बजेट विनियोजन गर्दा त्यसले प्रभावकारी खर्च हुन नसकेको र भएको खर्च पनि पारदर्शी तथा उपलब्धिमूलक नदेखिएको अख्तियारको निष्कर्ष छ।

अख्तियारले अर्थ मन्त्रालयलाई लेखेको पत्रमा स्रोतको टुङ्गो नभई कार्यक्रम स्वीकृति पनि नगराउन निर्देशन दिइएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७३÷०७४ पछि दुई वर्षसम्म स्रोत सुनिश्चितताका नाममा करिब ८ खर्ब रुपैयाँ बजेटको प्रतिवद्धता जनाएको थियो। स्रोत सुनिश्चितता पाएको भन्दै सरकारी तथा सार्वजनिक निकायले आफूले पाउने बजेटको १० गुणा बढीसम्मको खरिद योजना बनाई कार्यान्वन गरिरहेका छन्।

यसैबीच आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रभावकारी खरिद योजना लागू गर्न र भएका कामको चुस्त अनुगमन तथा मूल्याङ्कनका लागि पनि निर्देशन दिएको छ। अख्तिवयारले लामो समयदेखि कार्यान्वयनका क्रममा रहेका तर पूरा भने नभएका रुग्ण आयोजनाको अनुगमनमा जोड दिन पनि निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित