सगरमाथाको उचाइ आफै नाप्दै नेपाल

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न टिका टिप्पणी भइरहेका बेला नेपाल सरकारले नेपाली स्रोतसाधन नै प्रयोग गरी चाइ मापन गर्ने भएको छ । सरकारले अन्तर्राष्ट्रियस्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले उचाइ मापनको कार्य अगाडि बढाउने छ । मापन कार्य शुरु गर्नुपूर्व विभागले भारत, चीनलगायत विभिन्न देशका नापनक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल समेत गरिसकेको छ । सरकारले मापनका लागि दुई करोड रुपैया विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जनाएको छ । यही मंसिर २५ र २६ गते काठमाडौँमा भएको गोष्ठीमा नापी विभागले मापनका लागि तयार पारेको कार्यविधिमा पनि छलफल भएको हो । १७० वर्षअघि तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । तत्पश्चात् विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर, त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सबै पूर्वतयारी सकिएकाले मापनको कार्य तत्काल शुरु गर्ने नापी विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित