नेपाल-थाइल्यान्डबीच नयाँ सम्झौता, सातामा २८ वटासम्म उडान

nepal-thailand

  काठमाडौं । नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि नयाँ हवाई सम्झौता भएको छ। सन् १९७१ को हवाई सम्झौतामा सातामा १० वटा मात्रै उडान गर्न पाउने थियो। तर, आज भएको सम्झौता अनुसार भने सातामा २८ वटासम्म दुवै देशले उडान गर्न पाउने सहमति भएको टोलीमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताए।

थाइल्यान्डमा रजिस्ट्रेसन भएर अन्तर्राष्ट्रिय उडान भरिरहेका विमान कम्पनीले नेपालका जुनसुकै अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न पाउनेछन् भने नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीले पनि थाइल्यान्डका जनुसुकै सहरमा उडान भर्न पाउने नेपालले जानकारी दिए।

कार्गोका लागि कुनै प्रतिबन्ध छैन भने दुई पक्षीय सम्झौतामा थर्ड कन्ट्री कोड सेयरिङमा व्यवस्थापना गरिने पनि सम्झौतापत्रमा उल्लेख छ।

दुई देशबीच सन् १९७१ मा हवाई सम्झौता भए पनि अहिलेसम्म पुनरावलोकन हुन सकेको थिएन। अब पुरानो सम्झौता खारेज भई आजदेखि नयाँ सम्झौता लागू भएको छ। अहिले नेपाल एयरलाइन्सले थाइल्यान्ड उडान भरिरहेको छ भने थाइल्यान्डबाट थाई एयरवेज र थाइलाइन एयरले उडान भर्दै आएका छन्। थाइल्यान्डबाट थाई एयरवेजले दैनिक काठमाडौंमा उडान गर्दै आएको छ। थाइलाइनले सातामा तीन वटा मात्रै उडान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित