गौचन हत्याको जिम्मा लियाे डन समीर बस्नेत समूहले

काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा समीर बस्नेत समूहको हात रहेको खुलासा भएको छ । कहिले बैंकक त कहिले भारतमा लुकेर बस्दै आएका बस्नेत मनोज पुन समूहमा आवद्ध छन् । प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’ का खास सहयोगी बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकलाई फोन गरी घटनको जिम्मा लिएका हुन् ।

 प्रहरीले त्यसबारेमा अनुसन्धान अगाडि बढाएको छ । यसअघि काभ्रेली गुण्डा नाइके दावा लामामाथिको गोली प्रहारको घटनामा पनि राइले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए । उक्त गोलीकाण्डको घटना अहिलेसम्म रहस्यमय नै छ ।

 मनोज पुनको समूहले यस अघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो । राजधानीको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै गौचनमाथि गोली प्रहार गरी हत्या गरिएको हो । बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजरमा सवार गौचनमाथि गोली प्रहार भएको हो । उनको गाडी भने ड्राइभरले चलाएका थिए ।

 उनी अगाडि सिटमा थिए । मोटरसाइकलमा आएका आक्रमणकारीहरुले ड्राइभर बसेको ठाउँमा ढुंगा र गौचन बसेको ठाउँमा गोली चलाएर भागेका थिए ।  घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिए पनि अपराह्न ३ बजेर २६ मिनेटमा मृत घोषणा गरियो। अस्पताल स्रोतका अनुसार एउटा गोली उनको पेटमा लागेको थियो। जेलमा रहेका रमेश बाहुन समूहका व्यक्तिले गौचनमाथि गोली चलाएको आशंकामा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित