तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदै

Cow_worship.2e16d0ba.fill-650x500

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।  आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित