कुकुरको टाउको जोडिएको प्रधानमन्त्रीको तस्विर सेयर गर्ने नेविसंघका कार्यकर्ता पक्राउको विरोधमा आन्दोलनको घोषणा

NSU

  काठमाडौं । आफ्नो कार्यकर्ता पक्राउको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आन्दोलनको घोषणा गरेको छ । प्रधानमन्त्रीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

ढकालले कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको प्रधानमन्त्रीको तस्विर फेसबुक वालमा आए भन्दै सेयर गरेका थिए । यता नेविसंघले भने अन्जानमा फेसबुकमा आएको तस्वीर शेयर गरेको भन्दै माफी माग्दा समेत नछाडेको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ठाडो आदेशमा ढकाललाई पक्राउ गरिएको बताएका छन् । उनले भनेका छन्–‘अन्जानमा भएका कुरालाईसमेत यति ठूलो विषय बनाएर सरकारविरुद्ध आलोचना गर्दा सहन नसक्ने स्थितिमा पुगेको प्रमाणित गरेको छ । म प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिन चाहन्छु, जनताका दुःख र पीडामा साथ नदिने सरकारले आफ्ना गल्तीका बारेमा बोल्दा वा सांकेतिक रुपमा बिरोध जनाउँदा तानाशाही प्रवृति देखाउन बन्द गरोस् ।’

ढकाललाई रिहा गर्न माग गर्दै नेवि संघले कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित