मन्त्रिपरिषदले गर्‍यो विभिन्न नियुक्ति, प्रवन्ध मिलाएर सार्वजनिक गरिने : प्रवक्ता बास्कोटा

Cabinet-Meeting-1
काठमाण्डौ ।
सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । 
मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् । पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्र मन्त्रालयकै सह–सचिव हुन्।

मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा प्राविधिक तर्फबाट दुर्गा थापालाई एआइजी नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, जेनेभास्थित विश्व व्यापार संगठन ९डब्लुटिओ० का लागि नेपाली प्रतिनिधिमा दिपक धितालको समयावधि थप्ने निर्णय गरेको छ ।

यसैगरी सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह ईपीजीका सदस्य समेत हुन् ।

सरकारले औपचारिक रुपमा भने कुनै पनि निर्णय सार्वजनिक गरेको छैन । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले केही महत्वपूर्ण निर्णय भएको र नयाँ प्रवन्ध मिलाएर सार्वजनिक गरिने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित