पैदलयात्रीलाई ठक्कर दिइ फरार रहेको सवारी चालक पक्राउ

Accident-690x450
भक्तपुर ।
कात्तिक २२ गते अपराह्न ४ बजे एक पैदलयात्रीलाई ठक्कर दिइ फरार रहेको एक निजी सवारीसाधन र चालकलाई प्रहरीले चार दिनको अनुसन्धान पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठक्कर दिने बा १४ च १९५९ नं गाडी र सोही गाडीका चालक दोलखा कालिञ्चोक गापा वडा नं ४ बस्ने २० वर्षीय सुरोज थापालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

उक्त सवारी साधनले २२ गते मध्यपुरथिमि नपा–१ लोकन्थलीमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदा रामेछाप खाँडादेवी गापा–७ डाँडाखर्क घर भई हाल काठमाडौँ दक्षिणकाली नपा– १ बस्ने ५९ वर्षीय सोमबहादुर तामाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । ठक्कर दिइ फरार रहेको सवारीसाधन र चालकको नम्बरसमेत पहिचान हुन नसकेको अवस्थामा प्रहरीले गरेको अनुसन्धानका आधारमा चार दिनमा ठक्कर दिने सवारीसाधन र चालकलाई मध्यपुरथिमि– ४ चारदोबाटोबाट पक्राउ गरेको पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका चालकलाई सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित