पराजितलाई भित्र्याएर सचिवालयलाई फराकिलो

kpoli

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.राजन भट्टराई र ईन्द्र भण्डारीलाई भित्र्याएर सचिवालयलाई फराकिलो बनाउने प्रयास गरेका छन् । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी सहयोगी राजेश शाक्यका कारण आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य डा.भट्टराई विदेश मामिला सल्लाहकारमा र भण्डारीलाई प्रमुख स्वकीय सचिवमा नियुक्ति गरेर सहयोगी बढाएका हुन् । भण्डारी ओलीकै गृह जिल्ला झापाका नेता हुन् । यसअघि पनि भण्डारीले ओलीको सहयोगीका रुपमा काम गरिसकेका छन् ।

 उनी राजनीतिक व्याकग्राउण्ड भएका व्यक्ति हुन् । डा.भट्टराई काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका युवा नेता गगन थापासँग प्रतिनिधिसभा निर्वाचनमा पराजित नेता हुन् । डा.भट्टराईले विदेश मामिलाका साथै सुरक्षा सल्लाहकारको पनि जिम्मेवारी सम्हाल्ने बुझिएको छ ।
डा.भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारीको नियुक्तिसँगै प्रधानमन्त्री ओलीको सचिवालय १३ सदस्यीय भएको छ । डा.भट्टराईले भारतको राजदूत पद अस्वीकार गरेर ओलीको सल्लाहकार बनेको दाबी स्रोतको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का केन्द्रीय सदस्य अच्युत मैनालीले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारको जिम्मेवारी पाएका छन् । बारा १ बाट कांग्रेसका उमाकान्त चौधरीसँग पराजित भएका मैनालीलाई ओलीले लामो समयदेखि आफूलाई साथ दिएको भन्दै सल्लाहकारमा नियुक्ति गरेका हुन् ।
ओलीको सचिवालयका लागि पूर्व माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनकुटाका पूर्व सभासद् तथा नेकपाका केन्द्रीय सदस्य हेमराज भण्डारीलाई सिफारिस गरेका थिए । ओलीले उनलाई नियुक्ति गरेनन् ।
ओलीको सचिवालयमा सल्लाहकारको भूमिकामा रहेका विष्णु रिमाल, डा.राजन भट्टराई र अच्युत मैनाली बाहेक प्रदेश कमिटीमा रहेका इन्द्र भण्डारी प्रमुख स्वकीय सचिवमा नियुक्त भएर सबैलाई छक्क बनाएका छन् । ०५६ सालदेखि ओलीको स्वकीय सचिव रहेर काम गरेका भण्डारी पहिलो पटक ओली प्रधानमन्त्री हुँदा पनि प्रमुख स्वकीय सचिव थिए । प्रधानमन्त्री भएको करिव १० महिनासम्म ओलीले प्रमुख स्वकीय सचिव नियुक्त गरेका थिएनन् ।

 स्वकीय सचिव राजेश बज्राचार्यले नै सो जिम्मेवारी सम्हालिरहेका थिए । बज्राचार्य ओलीको पारिवारिक सदस्य समेत हुन् ।
प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा डा.कुन्दन अर्याल छन् । प्रेस र सञ्चार विज्ञमा पत्रकार रामशरण बजगाइँ र चेतन अधिकारी कार्यरत छन् । अधिकारी यसअघि पनि ओलीको प्रेस संयोजक थिए । प्रधानमन्त्री ओलीको सूचना प्रविधि विज्ञमा असगर अली कार्यरत छन् । असगर इसेवाका संस्थापक पनि हुन् । अवैतनिक सदस्यकै रुपमा कार्यरत मनोज पाण्डेले ओलीको टेलिभिजन कार्यक्रम सञ्चालन गर्छन् । ओलीको जनसम्पर्क सचिवालयमा झापा जिल्लाकै होम थापा, दीपेन्द्र दाहाल र रमेश भट्टराई कार्यरत छन् । (यूनाइटेड पोस्ट साप्ताहिक )

 

प्रतिक्रिया

सम्बन्धित