राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा शङ्खधर पार्क निर्माण कार्य सुरु

Thimi Park
भक्तपुर ।
मध्यपुरथिमि नगरपालिकाले राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा पार्क निर्माण कार्य सुरु भएको छ । नगरपालिकाले साबिकको नगरपालिका–४ स्थित एक सय ३० रोपनी खाली जमिनमा प्राचीन र परम्परागत शैलीमा शङ्खधर पार्क निर्माण लागेको हो । नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार, शङ्खधर चोकको डांडामा आधुनिक प्रविधिमा प्राचीन शैलीको ढुङ्गेधारासहित अपाङ्गमैत्री पार्क निर्माण सुरु भएको हो ।  स्थानीय बासिन्दाले फोहोर फालेर थुप्रो लगाएको र सडकसम्मै झाडीले ढाकिएको सो क्षेत्रलाई नगरपालिकाले सफा गरी पार्क निर्माण गर्न लागेको हो । एक करोड ५० लाख रुपियाँ खर्च लाग्ने पार्क निर्माणमा करिव एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बतए ।
प्रमुख ज्ञवालीका अनुसार, ढुङ्गाको पर्खाल र त्यसमाथि फलामको बार लगाई पैदल हिँड्न फुटपाथ बनाइने छ । सो पार्कमा ह्वील चियर लान मिल्ने गरी अपाङ्ग मैत्री बनाइने छ । पार्कमा आकर्षक बगैँचा निर्माण गरिने छ भने पार्क निर्माणस्थलको माथिल्लो भागमा रहेको पानीको मुहान सहितको कुवाको पानीलाई पानी ट्याङ्कीमा जम्मा गरी हरेक दिन बिहान ढुङ्गेधारामा आउने व्यवस्था गरिने भएको छ ।  एकवर्ष भित्र पार्क निर्माण सम्पन्न गरी आगामी वर्ष नेपाल सम्वतको पहिलो दिन उद्घघाटन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको जानकारी दिँदै नगर प्रमुख श्रेष्ठले शङ्खधर चोक गुरुयोजना बनाएर सोही गुरुयोजनामार्फत काम सुरु भएको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित