एनआरएनएको चुनावमा भट्टलाई टक्कर दिँदै जमुना, महासचिबमा त्रिलोकको दाबेदारी

काठमाडौं । शनिबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनले दुई वर्षका लागि नेतृत्व चयन गर्दै छ । सम्मेलनमा दुई हजारभन्दा बढी सहभागी हुँदैछन  । अध्यक्षका लागि उपेन्द्र महतो र जिवा लामिछानेको समुहबाट  भवन भट्टले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

   घले समूहबाट शेषकै श्रीमती जमुना गुरुङले उम्मेदवारीको तयारी गरिरहे पनि आइतबारसम्म घोषणा गरिएको छैन । उनी उम्मेदवारी घोषणाको अन्तिम तयारीमा छन् । अस्ट्रेलियाको धनाढ्यको सूचीमा १०१ स्थानमा शेष र १०२ औं स्थानमा जमुना छन् । दुई दशकअघि अस्ट्रेलिया पुगेका घले दम्पत्ति शिक्षण व्यवसाय र रियलस्टेट बिजनेसमार्फत माथि उठेको हो । घलेको काठमाडौंमा आठ अर्ब रुपैयाँ लगानीमा पाँचतारे डिलक्स होटल शेराटन निर्माणाधीन छ । दोस्रोपटक एनआरएनएको अध्यक्ष भएदेखिनै महत्कांक्षी जमुनाले तयारी गरिरहे पनि अध्यक्ष हुने चाहना सार्वजनिक गरेकी थिइनन् ।

  भट्ट समूहबाट उपाध्यक्षमा कुमार पन्त उम्मेदवार हुने निश्चित भए पनि अर्को उपाध्यक्षमा कसलाई समर्थन गर्ने टुंगो लागेको छैन ।  घले समूहको समर्थनमा उपाध्यक्षमा कुल आचार्यले उम्मेदवारी दिने टुंगो लागेको छ । महिला उपाध्यक्षमा सपिला राजभण्डारी भट्ट समूहको समर्थनमा उम्मेदवार हुनेछन्, घले समूहले रञ्जु वाग्लेलाई अघि सारेको छ ।

 महासचिवमा भट्ट समूहबाट  बद्री केसीलाई दोस्रोपटक उम्मेदवार बनाउने तयारी भएको छ । घलेको समर्थनमा त्रिलोक गुरुङले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन । तर, गुरुङलाई भट्ट समुहको पनि समर्थन रहेको छ  ।  भट्ट समूहको समर्थनमा अहिलेकै कोषाध्यक्ष हिक्मत केसीले कोषाध्यक्षको उम्मेदवार बन्दै छन् भने घले समूहले नुछेत्र गुरुङलाई अघि सारेको छ । सचिवमा धेरैले घोषणा गरे पनि दुवै समूहले ककसलाई समर्थन गर्ने सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित