परराष्ट्रमन्त्री ज्ञवाली जापान र थाइल्यान्ड भ्रमणमा

Pradip Kumar

काठमाडौं  ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार अपराह्न जापानको राजधानी टोकियो प्रस्थान गरेका छन्। सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय औपचारिक भ्रमणका गएका हुन् । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख सहसचिव गणेशप्रसाद ढकाल र महाशाखाका उपसचिव रोशन खनाल परराष्ट्रमन्त्रीको सचिवालयका उपसचिव तेजबहादुर क्षेत्री र अर्थमन्त्रीको सचिवालयका एक जना उपसचिव छन् । भ्रमणको क्रममा मन्त्री ज्ञवालीले जापानमा रहेका नेपालीसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । भ्रमणका क्रममा उनी थाइल्यान्ड पनि जाने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा यही मंसिर ३ गते नेपाल र जापानबीच खाद्य सहायतासम्बन्धी समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ। मन्त्री ज्ञवालीले जापानका कृषि तथा वनमन्त्री ताकामोरी योसिकावाका साथै अन्य राजनीतिक नेतृत्वसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने नीतिलाई व्यवहारमा रुपान्तरण गर्न तथा जापानी उद्यमी व्यवसायीलाई नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी दिन आयोजना हुने नेपाल लगानी कार्यशालालाई उनले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल थाइल्याण्डको दुईदिने भ्रमणसमेत पूरा गरी यही मंसिर ७ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ  ।

प्रतिक्रिया

सम्बन्धित