सरकारसँग आयाल निगमको हार गुहार

NOC

   काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा तत्काले नेपालमा पनि समायोजनको नाममा मूल्य बढाउने नेपाल आयाल निगमले मूल्य घट्दा भने घटाउने गरेको छैन । मूल्य समायोजनको नाममा महिनामा दुई पटकसम्म मूल्य बढाएर नाफा कमाउँदै आएको निगमलाई नाफा भएको रकम बोनस बाँड्दैमा ठिक्क हुन्छ । अहिले फेरि पनि निगमले घाटा भइको भन्दै सरकारसँग साढे दुई अर्ब रुपैयाँ माग गरेर अर्को नाटक मञ्चन गरेको छ ।

निगमले इण्डियन आयल कर्पोरेसन (आईओसी) लाई रकम भुक्तान गर्न भन्दै सरकारसँग साढे दुई अर्ब रुपैयाँ माग गरेको हो ।एनओसी स्वचालित मूल्य प्रणाली (अटो प्राइस) मा गए पनि चाडपर्वलाई लक्षित गर्दै गएको असोजदेखि अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार मूल्य समायोजन नगरेको भन्दै निगमले सरकारसँग रकम माग गरेको हो ।

साउनयता नै बढ्दै गएको डलरको भाउ र भदौ दोस्रो सातादेखि असोजसम्म चुलिएको डलरको भाउले निगमलाई थप भार थप्दै गएको निगमले जनाएको छ । पछिल्लो समय मूल्य समायोजन नगर्दा यो घाटा व्यहोर्नु परेको हो । नोभेम्बर १६ मा आएको मूल्यसूची अनुसार पेट्रोलमा केही नाफा देखिए पनि डिजेल र खाना पकाउने ग्यासमा घाटा उस्तै रहेको निगमको भनाई छ ।

चालू आवको साउनदेखि मंसिरसम्ममा निगम तीन अर्ब ८२ करोड रुपैयाँको घाटामा गएको छ । अहिले हरेक १५ दिनमा निगमले ४१ करोड रुपैयाँ घाटा व्यहोरी रहेको छ । अमेरिकी डलरको विनियम दर एक रुपैयाँले वृद्धि हुँदा निगमलाई महिनामा करिब १५ करोडभन्दा बढीको अतिरिक्त आर्थिक भार थपिने निगमको हिसाब छ । तरपनि निगमले आफ्ना कर्मचारीलाई भने धेरै नै नाफामा गएको संस्था झैं बोनस बाड्न भने छाडेको छैन ।

हाल प्राप्त भएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ६९ पैसा नाफा छ भने डिजेलमा प्रतिलिटर एक रुपैयाँ ९० पैसा र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डरमा पाँच सय सात रुपैयाँ घाटा छ ।

प्रतिक्रिया

सम्बन्धित