सिटीइभिटीबाट स्वीकृती लिएर योग अभ्यास शुरु गर्दै पातञ्जल योग समिति

yog 1

  भक्तपुर । पातञ्जल योग समिति नेपालले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी) सँग सम्बन्धन लिई योग प्रशिक्षणका तालिमहरु सञ्चालन गर्ने भएको छ । समिति र सिटीइभिटीका प्रतिनिधिहरुबीच आइतबार भएको छलफलमा पातञ्जल योगसमिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले योग शिक्षकहरुलाई पनि नेपाल सरकारद्धारा मान्यताप्राप्त शैक्षिक योग्यताको प्रमाणपत्र नहुँदा अप्ठेरो परिरहेको भन्दै सिटीइभिटीसँग समन्वय गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफल कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले भने–‘नेपालमा तालिम लिई योग शिक्षकको रुपमा कार्यरत योग शिक्षकहरु हजारौमा पुगिसकेका छन् । तर, ति शिक्षकहरु सँग नेपाल सरकारद्धारा मान्यता प्राप्त शैक्षिक योग्यताको तालिमको समानन्तर आधिकारीक प्रमाणपत्रहरु छैनन् । जसले गर्दा उहाँहरुले सिकाईरहेको योग, लिइरहेको तालिम र धारण गरिरहेको योग शिक्षकको पदवी माथि नै आधिकारिकताको प्रश्नचिन्ह खडा भैरहँदा यसलाई सिटीइभिटीसँग सम्बन्धन लिई व्यवस्थित तवरबाट सञ्चालन गर्न आवाश्यक देखिएको छ ।’

छलफल कार्यक्रममा योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले पातञ्जल योग समितिको यो अभियानले देशभर प्रत्येक जनजनमा योगलाई पूरयाउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्लेले योग शिक्षामा संलग्न भईरहेका योग शिक्षकहरुलाई उनीहरुको योग्यता र क्षमताको परीक्षण गर्न एवं भविष्यमा शैक्षिक मान्यता प्राप्त योग शिक्षकहरु निर्माण गर्न योग शिक्षा तथा तालिमका पाठ्यक्रमहरु निर्माण गरी त्यसैका आधारमा प्रशिक्षण र परीक्षा एवं तालिम सञ्चालन गरी अगाडि बढ्न आवाश्यक भएको यसलाई ढिलाई नगरी यो अभियानको थालनी गर्नको लागि सिटिईभिटि समक्ष आग्रह गरिएको बताए ।

छलफलपछि सिटीइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले पातञ्जल योग समितिले ल्याएको प्रस्ताव आम नेपालीलाई स्वस्थ बनाउने अभियानतर्फ केन्द्रित भएको उल्लेख गर्दै रोजगारीको अवसरलाई पनि सुनिश्चित हुने गरि परिषदले आवाश्यक कार्वाही अगाडि बढाउने उल्लेख गरे ।

सिटीइभिटीका उपनिर्देशक टैलेन्द्र आचार्यले पनि विभिन्न तहका तालिम कार्यक्रमहरु सिटीइभिटीले सञ्चालन गरिरहँदा पातञ्जल योग समितिले कुन–कुन तहका तालिम कार्यक्रमहरु प्रारम्भीक चरणमा थालनी गर्ने हो सो विषयमा प्रष्ट हुन आग्रह गर्दै एक तहको तालिम कार्यक्रम तयार गरि सञ्चालनमा ल्याउन कम्तीमा पनि ३ महिना लाग्न सक्ने र सो को लागि दुवै संस्थाका प्रतिनिधिबीच बाक्लो गृहकार्य हुनु पर्ने धारणा राखेका थिए ।

yog

छलफलमा पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहाकार संयोजक होम प्रसाद गौतम, केन्द्रिय उपाध्यक्ष राजभक्त श्रेष्ठ, कोषाध्यक्ष जानुकादेवी भट्टाराई, केन्द्रिय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख दिपक प्रसाद नेपाल, केन्द्रिय सदस्य योग प्रसाद आचार्य, केन्द्रिय सदस्य विजय कुमार पोखरेल, केन्द्रिय सल्लाहाकार दुर्गाप्रसाद भुषाललगाएतको सहभागिता रहेको थियो ।

भक्तपुर जिल्लाबाट औपचारिक रुपमा योग अभ्यास शुरु गरेको पातञ्जल योग समितिले एक वर्ष भित्रै ७७ वटै जिल्लामा योग अभ्यास सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित