एनआरएनए अध्यक्षमा भवन भट्ट बलिया उम्मेदवार

काठमाडौं । असोज २८ देखि ३१ सम्म काठमाडौंमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अध्यक्षका लागि अहिलेसम्म भवन भट्टले मात्रै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

टीबीआई समूहका अध्यक्ष भट्टलाई एनआरएनएका पुर्व अध्यक्ष उपेन्द्र महतो समुहको समर्थन रहेको छ । अध्यक्षमा वर्तमान अध्यक्षशेश घलेकी श्रीमती जमुना घलेले उम्मेदबारी दिने चर्चा चले पनि अहिलेसम्म घोषणा गरेकी छैनन् ।

अध्यक्ष पदका दाबेदार भट्टले यसअघि संघमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्ष निर्वाचित भएर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीको बिमाका लागि ‘एनआरएन वैदेशिक रोजगार आपतकालीन कोष’को रकम परिचालन गर्ने, महिला फोरमलाई सशक्त बनाउने एवं नयाँ लगानीकर्ताका लागि स्टार्टअप फन्डको व्यवस्था गर्ने योजना उनले अघि सारेका छन् ।

हाल एनआरएनए वैदेशिक रोजगार कोषमा करिब २ करोड ५० लाख रूपैयाँ रहेको छ । भट्टले वर्तमान नेतृत्वले अघि बढाएका लाप्राक नमूना बस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड तथा सामूहिक लगानीलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । भट्टले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै अन्य पदका लागि पनि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।

प्रतिक्रिया

सम्बन्धित