उपत्यकाका चार वृत्तका डिएसपी डेन्जर जोनमा

Nepal-Police-Logo

 काठमाडौं । प्रहरीहरु गैरव्यवसायिक र अवैध क्रियाकलापमा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले गोप्य रुपमा निगरानी शुरु गरेको छ । सेवाग्राहीसँग घुस लिनेदेखि अन्य अवैध क्रियाकलाप गरेका प्रहरीमाथि अपरेसन गर्न विशेष टोली गठन भएको छ ।

 प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेसँगै प्रहरी भित्र शुद्धिकरण अभियान शुरु भएको हो । अहिले काठमाडौंका केही वृत्तका डिएसपीहरुको क्रियाकलापका बारेमा आईजीपीको सचिवालयमा गुनासो आउन थालेपछि उनीहरुमाथि गोप्य निगरानी गर्न सचिवालयले काठमाडौं परिसरलाई निर्देशन दिएको बुझिएको छ । स्रोतका अनुसार बानेश्वर, बालाजु, महाराजगन्ज र दरबारमार्गका डिएसपी डेन्जर जोनमा परेका छन् ।

 कोटेश्वर प्रभागकी इन्स्पेक्टर एलिजा गिरीले गुण्डागर्दीमा संलग्न काभ्रेका मोनम लामा र टुसाल लामालाई मुद्दा चलाउन केही दिनअघि बानेश्वर वृत्तमा पठाएकी थिइन् । तर, वृत्तका डिएसपी गोविन्द राज काप्mलेले भने टुसाललाई मुद्दा चलाई मोनमलाई छाडेका छन् । कोटेश्वर क्षेत्रमा गुण्डागर्दी र अवैध असुलीमा संलग्न मोनमलाई छाड्दा डिएसपी काप्mलेले ठूलो आर्थिक चलखेल गरेको स्रोतले बतायो । कामभन्दा बढी चर्चामा रमाउने काप्mलेको विषयमा पनि सचिवालयमा गुनासो आउने गरेको छ ।

 त्यसैगरी बालाजु वृत्तका डिएसपी चिरञ्जीवी कोइरालाको विषयमा पनि सचिवालयमा उजुरी परेको बुझिएको छ । बालाजु क्षेत्रका मेनपावर, रेष्टुरेन्ट र होटलबाट अवैध असुली गर्दै आएको भन्दै उनी विरुद्ध उजुरी नै परेको स्रोतले थप बतायो ।
त्यसो, त महाराजगञ्ज वृत्तका डिएसपी फणिन्द्र प्रसाई पनि अनुसन्धानमा लापरबाही गरेको भन्दै छानबिनको दायरामा तानिन लागेका छन् । केही दिनअघि गोंगबुमा भएको बालक प्रयास कुँवरको हत्यामा संलग्न महेन्द्र एसकेलाई पक्राउ गरी रातभर राखेर डिएसपी प्रसाईले बिहान घर पु-याई छाडेका थिए । सो बारेमा अनुसन्धानमा लापरबाही गरेको भन्दै अपराध महाशाखामा डिएसपीमाथि छानबिन हुनुपर्ने माग बढेको थियो ।
दरबारमार्ग वृत्तका डिएसपी दानबहादुर मल्ल पनि डेन्जर जोनमा परेका छन् । जुवाडेसँग रकम असुल्नेदेखि डिस्को र क्लबमा झगडा गर्ने गुन्डालाई छाडेर उनी विवादमा आइरहेका छन् । केही दिन अघि एक क्लबमा खुकुरी हानेको मुुद्दामा पक्राउ परेका प्रकाश पुन नामका गुन्डालाई छाड्न मल्लले ठूलो रकमको चलखेल गरेका थिए । तर यो कुरा काठमाडौं परिसरका एसपी अशोक सिंहको कानमा पुगेपछि सिंहले मल्ललाई झपारे र पुनमाथि म्याद थपेर मुद्दा चलाइयो ।यूनाइटेड पोस्ट साप्ताहिक)

प्रतिक्रिया

सम्बन्धित