सांसदहरुलाई आईजीपीको जवाफ - निर्मला हत्याको अनुसन्धानमा कुनै दबाब छैन,गल्ती भेटिए बर्दी खोल्न तयार छु

igpkhanal2

 काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन् ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा आईजीपी खनालले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने पनि स्पस्ट पारे ।

आईजीपी खनालले भने - 'हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो । तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसद्मा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।' कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले आज प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो ।

 आईजीपी खनालले घटनाको  अनुसन्धानमा गैर व्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको वताए । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशङ्का देखिएको उल्लेख गरे ।

 'निर्मला हत्याकाण्ड पछि निन्द्रा लाग्न छोडेको छ, एक रौ पनि गलत काम गरेको छैन । सिसिटिभी लगायतका प्रविधिको अभावमा छानविनमा समस्या आएपनि अहिलेसम्म कुनै दबाबमा काम गरेको छैन, निर्दोष व्यक्तिलाई फसाउने काम हुँदैन ।’ आइजीपी खनालको भनाई थियो ।आईजीपी खनालले ९७ दशमलव ५ प्रतिशत घटनाको अनुसन्धान भई कानूनको दायरमा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको पनि उल्लेख गरे । राष्ट्रविरोधी र अवाञ्छित गतिविधि गर्नेलाई पक्राउ गरी कारवाही गरिएको पनि उनले जानकारी दिए ।

समितिका सदस्यले मुलुकका शान्ति सुरक्षा र सुशासनका क्षेत्रमा देखिएको चुनौतीबारे चिन्ता प्रकट गर्दै कुनै खास घटना विशेषमा मात्र नभई समग्र सुरक्षा र सुशासनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित