सांसद बस्नेतको पहलमा सूर्यविनायक चोकदेखि साँगासम्मको सर्भिस ट्र्याक खोल्ने काम शुरु
भक्तपुर ।
भक्तपुरको सूर्यविनायक चोकदेखि साँगासम्मको सर्भिस ट्र्याक खोल्ने काम शुरु हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक चोकदेखि साँगासम्मको सर्भिस ट्र्याकको शिलान्यास गर्दै १५ दिन भित्रमा कार्य सम्पन्न गर्न निर्देशन दिएसँगै सर्भिस ट्र्याक खोल्ने काम शुरु भएको हो । भक्तपुरको जगातीमा आज उक्त शिलन्यास गर्दै सांसद बस्नेतले भक्तपुरमा विकासलाई गतिशिलता प्रदान गरेको बताए। आज शुरु गरिएको सर्भिस ट्र्याक सडकको मापदण्ड अनुसार भन्दा पनि राजमार्गको जाम तथा दुर्घटना न्युनिकरण अन्त्यको अर्को नयाँ कार्य प्रारम्भ भएको बताउदै सांसद बस्नेतले सडकको मापदण्ड अनुसार फागुनदेखि मात्र काम अघि बढ्ने जानकारी गराएका थिए । कार्यक्रममा सांसद बस्नेतले सडकको मापदण्ड भित्र निर्माण भएका घर तथा टहरा हटाउन समेत स्थानीयवासीलाई आग्रह गरेका छन् । २०३५ भन्दा अघि निर्माण गरिएका घर तथा टहरा भने तत्काल नहटाउन आग्रह गर्दै सरकारले क्षतीपूर्तिको व्यवस्था गरेपछि हटाउन समेत बताए ।
फागुनदेखि जापान सरकारले अरनिको राजमार्गलाई ८२ फिटको बनाउने कार्य प्रारम्भ गर्ने जानकारी गराउँदै बस्नेतले राजमार्गमा अन्य आवश्यक सरसफाई, वातावरण सुन्दरताका कार्य समेत गर्न जापान सरकार सहमत भएको जानकारी गराए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले विकास निर्माणका क्रममा कुनै समस्या आए समाधान गर्न प्रशासन तयार रहेको तर निर्माण प्रकृयालाई अवरोध गरे प्रशासन जवाफि कारवाही गरी अघि बढ्ने बताए ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले लाखौ जनतालाई सास्ती बनिरहेको अरनिको राजमार्गमा हुने जामलाई अन्त्य गर्न स्थानीय सरकार आवश्यकता अनुसार जहिले पनि साथ र सहयोग गर्न तयार रहेको बताए । उनले राजमार्गको विस्तारमा कुनै समस्या आए स्थानीय सरकारले नै समाधान गर्ने र निर्माण प्रकृया रोक्नुपर्ने अवस्था नआउने समेत बताए ।
कार्यक्रममा प्रदेश नं। ३ का सदस्य रजनी जोन्छे, सूर्यविनायक नगरपालिका उप- प्रमुख जुना बस्नेत , मध्यपुर थिमी नगरपालिकाका उप-प्रमुख अन्जना मधिकिर्मी, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा, वडा नं.९ का वडाध्यक्ष उपेन्द्र केसी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया