काभ्रेमा वडा सदस्य नै बालुवा चोरीको धन्दामा
काभ्रे । भुम्लु गाउँपालिका– ६ स्थित सुनकोशी नदी किनारामा अवैध रुपमा बालुवा चोरी गर्ने वडा सदस्य सहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वले दवाव दिएका छन । प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ ।
गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् । एसपी रविराज खड्काले गिरोहका सदस्यलाई पक्राउ गरी कारवाही शुरु गरेको बताए ।
‘सुनकोशी र पाँचखाल लगायतको क्षेत्रमा बालुवा चोरी गर्ने गिरोहलाई पक्राउ गर्न अभियान शुरु गरिएको छ’–एसपी खड्काले भने –‘प्राकृतिक श्रोतको दोहन गर्ने समुहलाई कारवाही हुन्छ ।’
भुम्लु गाउँपालिकाले सुनकोशी क्षेत्रमा बालुवा उत्खनन गर्न मसिंर ३ गते एक महिने बोलपत्र आब्हान गरेको थियो । बोलपत्र खरिद गर्ने समय पुस ४ गतेसम्म रहेको छ । ७ करोड रुपैयाको बोलपत्र निकालेपछि ब्यवसायीहरुले बालुवा खरिद विक्री गर्नु अगावै गिरोहले खोलाबाट बालुवा चोरी गरेको हो । चोरी गरिएको बालुवाको राजश्व मात्रै झण्डै २६ लाख हुने र यो गाउँपालिकाको आम्दानी गुमेको छ ।
गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गाउँपालिकाले कानुनी रुपमा बोलपत्र गर्न आब्हान गरे लगत्तै खोलाबाट बालुवा चोरी भएको बताउनुभयो । ‘को हो गिरोह थाहा छैन, गाउँपालिकाले बोलपत्र गरेको छ’–गाउँपालिका अध्यक्ष कुँवरले भने–‘झण्डै एक हजार ट्रिप बालुवा चोरी भएको छ । केही ट्रक विक्री भएको छ भने केहि थुपारिएको अवस्थामा फेला परेको छ ।’
सो गाउँपालिका ६ का वडा सदस्य लोकबहादुर माझी समेत बालुवा चोरीमा संलग्न भएका छन् । उनकै नेतृत्वमा सोही स्थानमा सबै माझीहरुको सहभागितामा बालुवा उत्खनन भएको हो । वडा सदस्य सहित ९ जना माझीहरु पक्राउ परेका छन् । मुख्य गिरोह अझै फरार रहेको प्रहरीले बताएको छ । (नेपाल समाचारपत्र )
प्रतिक्रिया