आजबाट उपत्यकामा जथाभावी गाडी रोक्न निषेध

public bus

   काठमाडौं । उपत्यकामा ट्राफिक जाम कम गराउने उद्देश्यले काठमाडौं महानगरपालिकाले आजबाट उपत्यकामा ‘पिक एण्ड ड्रप’ लागु गरेको छ। यो सँगै सार्वजनिक सवारी साधानले आजबाट टुँडिखेल वरिपरि यात्रु पर्खेर बस्न पाउने छैनन्।

यो योजना उपत्यकाका ११ रुटमा लागु गरिएको छ। एक सवारी साधनले एक स्थानबाट मात्रै यात्रु ओराल्न र चढाउन पाउने छन्। तोकिएको स्थानमा बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ। यस अभियानले सफलता पाएसँगै उपत्यकाको सबै सडकमा पिक एण्ड ड्रप नियम लागू गर्ने सरकारको तयारी छ।

कहाँ–कहाँ लागू हुँदैछ पिक एण्ड ड्रप
टुँडिखेलबाट सिंहदरबार हुँदै बानेश्वर जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँ बायाँको भृकुटीमण्डपको स्टप र माइतीघरबाट बबरमहलको बीचमा मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन्। टुँडिखेलबाट सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र थापाथलीस्थित खाद्य संस्थानअघि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन्।

त्यसैगरी टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालीमाटीतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटी मण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने सवारी साधनले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दूग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन्।

यस्तै टुँडिखेलबाट लैनचौर हुँदै महाराजगञ्ज र धोबिचौर जाने सवारी साधनले नेपाल वायुसेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन्। टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने सवारी साधनले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने सवारी साधनले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्र ओराल्न र चढाउन पाउनेछन्।

पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने सवारी साधनका लागि पुरानो बसपार्कभित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कंदा नेपाल वायु सेवा निगम हुँदै चल्ने सवारी साधनले एकतर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्नेछ।

वायुसेवा निगम अगाडि स्टप बनाई विभिन्न स्थानमा जाने सफा टेम्पोले निगम अगाडिको स्टप र अन्य सवारी साधनले प्रयोग गर्ने स्टप तथा बागबजारस्थित भक्तपुर बसपार्कबाट यात्रु लिई आउने सवारी साधनले सोही ठाउँ र माइतीघर र बबरमहलको बीचबाट यात्रु ओराल्न र चढाउन पानेछन्।

प्रतिक्रिया

सम्बन्धित