‘संविधानले मान्दैन, नत्र दुई वटा प्रधानमन्त्री बनाउथ्यौँ : प्रधानमन्त्री ओली

Kp-Oli-Ncp
    काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीले दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । पार्टी कार्यालय धुमबाराहीमा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपतिको आलोचना र विरोध गर्न नहुने बताए । ‘कहिले राष्ट्रपतिलाई गाडी भन्या छ कहिले प्रहरीको तालिम केन्द्र सार्ने भनेको छ कहिले के भन्या छ ?  राष्ट्रपति कुन दलको भन्या छ र?’, उनले भने, ‘यसरी चौतर्फी आक्रमण गर्नु हुँदैन ।’

महाराजन्जमा रहेको तालिम केन्द्र प्रहरीलाई साँघुरो भएको ओलीले बताए । त्यहाँको ठाउँ सानो भएपछि काभ्रेमा सार्ने निर्णय १५ वर्ष अगाडि भएको थियो’, उनले भने, ‘फुटबल खेल्न पनि नपुग्ने ठाउँमा प्रहरीलाई कसरी तालिम हुन्छ र ?’ राष्ट्रपतिलाई पनि स्थान थोरै भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सानो ठाउँमा कसरी बस्ने ? कसरी काम गर्ने र ? 

कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ओलीले समृद्ध देश बनाउने संकल्पसाथ गरिएको पार्टी एकतालाई कमजोर बनाउन र सकेसम्म दुई अध्यक्षबीच नै फाटो ल्याउन देशी–विदेशी शक्तिले कोसिस गरिरहेको दावी गरेका हुन् ।

नेपाली कांग्रेसप्रति आक्रमक देखिएका ओलीले नेकपालाई कसैले पनि किस्तीमा राखेर सत्ता नदिएको बताए । ‘हामीले पाएको जनमतको कदर गर्न प्रतिक्रियावादीहरूले सक्नुपर्छ’, उनले भने, ‘हामीले गरेको कामको प्रसंशा गर्नुपर्छ । राम्रा काम गरेका छौँ ।’

नेकपामा दुई अध्यक्ष रहेर राम्रो काम गरेको बताएका ओलीले भने, ‘संविधानले मान्दैन । नत्र दुई वटा प्रधानमन्त्री बनाउँथ्यौँ ।’ ओलीले दुई वटा प्रधानमन्त्री बनाउने कुरा गर्दै हलमा रहेका नेता तथा कार्यकर्ता हाँसेका थिए ।

ओलीले आफूलाई धेरै नबोल्न भनेर दिएको सुझावप्रति पनि आपत्ति जनाए । ‘म राजनीतिक मान्छे हो । नेकपाको अध्यक्ष हो । प्रधानमन्त्री पनि हो’, उनले आक्रोशित हुँदै भने, ‘म नबोलेरको बोल्छ ? बोल्छु ।'

प्रतिक्रिया

सम्बन्धित