मोनोरेलको डिपिआरका लागि सम्झौता
काठमाडौँ, काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरिएको छ ।
काठमाडौं महानगरपालिकाले चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ्ले हस्ताक्षर गर्नुभएको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सबै राजनीतिक दलको साझा एजेण्डा र सबैको सपना मोनोरेल भएको उल्लेख गर्दै राज्यलाई आर्थिक बोझ नहुने गरी चिनियाँ कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो । “सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा काम भएको छ,” शाक्यले भन्नुभयो, “मोनोरेल चल्यो भने काठमाडौंको प्रदूषण समस्या समाधानमा सहयोगी बन्छ ।”
नेपालले विसं २०१२ बाटै मोनोरेलको अध्ययन शुरु गरेपनि सफल हुन सकेन । नेपालमा विज्ञ र क्षमताको अभाव तथा खर्चिलो हुँदा काम हुन नसकेको कामपाले जनाइएको छ । तर अब भने सपना साकार हुने भन्दै प्रमुख शाक्यले निर्माण गर्दा कसैको घर भत्काउन समेत नपर्ने उल्लेख गर्नुभयो । डिपिआरपछि ठेक्का प्रक्रियामा जाने महानगरपालिकाको भनाइ छ ।
चाइना रेल वे २५औँ ब्युरो ग्रुप कम्पनीको ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ मोनोरेलको डिपिआर निर्माणका लागि सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गर्दै समयमै प्रतिवेदन तयार हुने उल्लेख गर्नुभयो ।
माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्याङ्कन९इआइए०, मोनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनको चरण र लाभ विश्लेषण सहितको डिपिआर निर्माण हुने महानगरपालिकाले जनाएको छ ।
यसअघि मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएको थियो । आर्थिक प्राविधिक तथा शहरी यातायात व्यवस्थापनको दिगोपनाको विषयमा भएको सम्भाव्यता अध्ययन प्रतिवेदन भदौ २८ गते महानगरपालई बुझाइएको थियो ।
सम्भाव्यता अध्ययनका लागि कम्पनीले २०७५ वैशाख २० मा आशयपत्र बुझाएकामा जेठ ११ गते सम्झौता भएको थियो । उक्त कम्पनीले छ महीनामा सम्भाव्यता अध्ययन सक्ने सम्झौता गरेपनि तीन महीनामै काम सम्पन्न गरेर प्रतिवेदन बुझाएको थियो । त्यसलाई उदाहरण दिँदै महानगरपालिकाका प्रमुख शाक्यले अहिले डिपिआर निर्माण सम्झौता एक वर्षको भए पनि छ महीनामै प्रतिवेदन आउने विश्वास व्यक्त गर्नुभयो ।
सम्भाव्यता अध्ययनले गौशालादेखि चावहिलसम्मको सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गरे विस्तारित चक्रपथको पैदलमार्गभित्रको दोस्रो लाइनमा मोनोरेल चलाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । यसैको आधारमा डिपिआर तयार पार्न लागिएको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मोनोरेल निर्वाचनको समयमा राजनीतिक एजेण्डा भएको र आवश्यकता पनि रहेकाले समयमै काम हुने आशा व्यक्त गर्नुभयो ।
सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार उपत्यकाको २७ किमी चक्रपथमध्ये १० किमी ललितपुर महानगरपालिकाभित्र पर्छ । अहिलेको अवस्थालाई आकलन गर्दा तीन चरणमा निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ ।
पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि महाराजगञ्जसम्म र तेस्रो चरणमा महाराजगञ्जदेखि कोटेश्वरसम्म काम गर्दा उपयुक्त हुने अध्ययनको निष्कर्ष छ । मोनोरेल निर्माणका लागि करीब रु एक खर्ब १६ अर्ब लाग्ने अनुमान छ ।रासस
प्रतिक्रिया