प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, महासभामा आतंकवाद नियन्त्रणलाई जोड दिएको अवगत

काठमाडौँ। संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन् ।

 विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधनका क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचनलगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएको, नेपाल राष्ट्रसंघको उद्देश्यहरू परिपूर्तिमा प्रतिबद्ध रहेको, विश्व शान्ति र आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध भएको उल्लेख गरे ।

  राष्ट्रसंघमा साना मुलुकको भूमिकाका विषयमा पनि आफूले परिचर्चा गरेको जनाउँदै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहँदा सार्क राष्ट्र र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा समकक्षीसँग गरेको भेटवार्ता उपलब्धिमूलक रहेको प्रधानमन्त्री देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवाले नेपाल सार्कको अध्यक्ष मुलुकसमेत रहेको नाताले १९ औँ सार्क शिखर सम्मेलन गराउने विषयमा त्यहाँ उपलब्ध सार्क मुलुकका परराष्ट्र मन्त्रीहरूको अनौपचारिक बैठक समेत भएको वताए ।

  राष्ट्र संघको शान्ति स्थापनाको लक्ष्यमा शान्ति सेनाको भूमिका थप प्रभावकारी बनाउन तथा काभ्रेको पाँचखालस्थित सैनिक तालीम केन्द्रलाई क्षमता वृद्धि गर्न कुराकानी भएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले आफ्नो ओमानको औपचारिक भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको र त्यहाँस्थित नेपाली श्रमिकहरूको श्रम शोषण अन्त्यका लागि विशेष पहल गरिने बताए ।

  चिकित्सकहरूको जारी हडतालका बारेमा पत्रकारद्वारा सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले उहाँहरूको माग सम्बोधन गर्न तथा चिकित्सकको सुरक्षाका लागि सरकार सदैव तयार रहेको तर स्वास्थ्य सेवामा हडतालका कार्यक्रम फिर्ता लिनुपर्ने प्रतिक्रिया दिए । प्रधानमन्त्री महासभामा भागलिनका लागि यही असोज ३ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित