सवारी दुर्घटनामा परि तीनको मृत्यु, तीन घाइते

balaju acc

    काठमाडौं । राजधानी तथा बाहिर जिल्लाहरुमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काठमाडौंको बालाजु बाइपासमा टिपरको ठक्करबाट ठेलागाडामा चिया बेच्ने धादिङ घर भई हाल बाइपास बस्दै आएका ५० वर्षीय दलबहादुर बिसुंखेको मृत्यु भएको हो भने बिसुंखेको श्रीमतीसहित दुई जना घाइते भएका छन्। हाल उनीहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

बिहान करिब ५ः३० बजे माटो बोकेर तिनपिप्लेबाट आएको ना ७ ख ७००५ नम्बरको टिपरले चार वटा ट्याक्सी र चिया बेच्ने ठेलागाडालाई ठक्कर दिएको थियो । ठक्करका कारण बा १ ज १९४१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। तीनवटा ट्याक्सीमा क्षति पुगेको छ। दुर्घटनाका कारण बालाजु क्षेत्रमा विहान केही समय सवारी आवगमन ठप्प भएको थियो।टिपरको ब्रेक फेल भएको र अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्कोतिर, रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा १ त १६९४ नम्बरको ट्याक्टर सोही गाउँपालिका–१२ को गर्खानीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार भुमे गाउँपालिका–१ पञ्चासेका १६ वर्षीय बिस्मत गुरुङको मृत्यु भएको रुकुम पूर्व जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सोही दुर्घटनामा परी रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका दिलीप विक घाइते भएका छन्। हिउँमा चिप्लिएर ट्याक्टर सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ। घाइते विकको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भइरहेको छ। ट्याक्टर चालक दाङका सन्तोष चौधरी फरार रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी चितवनस्थित भरतपुर महानगरपालिका – १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा ट्रकले साइकलयात्री ठक्कर दिंदा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरीको मृत्यु भएको छ ।

आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ७ ख १३९४ नम्बरको ट्रकले साइकलयात्री चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया

सम्बन्धित