सिमरा गोल्डकपको दशौँ संस्करण आजबाट

 simara         बारा।   सिमरा गोल्डकपको दशौँ संस्करण आजबाट सुरु हुदैछ। सिमरा रंगशालामा सञ्चालन गरिने प्रतियोगिता माघ ३ देखी १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजनका सात र मोफसलका तीन गरि १० टिमको सहभागिता रहने भएको छ । टिमहरुमा ए डिभिजनका त्रिभुवन आर्मी क्लब काठमाण्डौ, सिएमजी संकटा काठमाण्डौ, नेपाल एपिएफ काठमाण्डौ, सरस्वती युथ क्लव काठमाण्डौ, हिमालयन शेर्पा काठमाण्डौ, रुस्लान थ्रीस्टार क्लव ललितपुर सहित नेपाल पुलिस क्लव काठमाण्डौ रहनेछन् भने मोफसलबाट बिज्ञान मेमोरियल फाउण्डेसन बीरगञ्ज, मकवानपुर ११ हेटौँडा र आयोजक नव जागृति युवा क्लब रहेका छन् ।

सातौं संस्करणसम्म मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रहेको सिमरा गोल्डकपमा यस बर्ष प्रतियोगिताको बिजेतालाई ६ लाख दिइने भएको छ । उपबिजेताले ३ लाख प्राप्त गर्नेछ । यो पुरस्कार राशी अघिल्लो बर्षभन्दा ५०/५० हजारले बढाइएको हो ।
बिजय डिस्टिलरीको मुख्य प्रायोजनमा संचालन हुने सिमरा गोल्डकपको लागत ७६ लाख अनुमान गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई गत बर्षझै मोटरसाईकल प्रदान गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक लगाएतका अन्य बिधामा जनही २० हजार प्राप्त गर्ने भएका छन् । खेलको म्यान अफ दि म्याचलाई आयोजकले यस बर्ष १० हजार नगदसहित ट्रफि दिने भएको छ ।
यस्तै यसबर्ष देखी उदयीमान खेलाडी पुरस्कार पनि दिइने भएको छ । खेल अवधीभरबाट उदयीमान खेलाडी छनौटगरी नगद १५ हजार राशी प्रदान गरिने आयोजक क्लबका महासचिव शम्भुसिँह ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित