मन्त्री अधिकारीका कारण दुई अन्तर्राष्ट्रिय विमानस्थलमा लफडा

rabindra adhikari

    काठमाडौं । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल उद्देश्यअनुसार सञ्चालनमा नआउने भएको छ । वाइड बडी विमान खरिद घोटालामा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीका कारण विमानस्थल सञ्चालनमा नआउने अवस्था सिर्जना भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको र मन्त्री अधिकारीले बेलाबेला दिने गरेको विवादास्पद अभिव्यक्ति र निर्णयले भारत चिढिएका कारण गौतम बुद्ध विमानस्थल तोकिएको समयमा सञ्चालनमा नआउने भएको हो । ओलीले भारतसँग गरेको सहमतिलाई कार्यान्वयन नगरेपछि भारतले पनि लुम्बिनीमा उडान अनुमित दिएको छैन । ओली र अधिकारीले भारतसँग उडान अनुमति लिनेबारेमा अहिलेसम्म औपचारिक कुराकानी नगरेको स्रोत बताउँछ ।

नेपाली कांग्रेसको सरकारका पालामा भारतले लुम्बिनीमा अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिने भनेको थियो । तर, ओली सरकारप्रति भारतले विश्वास नगरेका कारण विमानस्थलको काम लगभग पूरा भए पनि सञ्चालनमा आउने छाँटकाँट देखिएको छैन । वाइड बडी विमान खरिद घोटालामा फसेको अहिलेको सरकारका लागि लुम्बिनीमा बिमानस्थल मात्रै नभई पोखराको विमानस्थल पनि घाँडो बनेको छ । मन्त्री अधिकारीले पोखरा विमानस्थलमा पनि ठूलो घोटाला गरेको भनेर उनकै दलका नेता खगराज अधिकारीले आरोप लगाउँदै आएका छन् ।

पर्यटन मन्त्री अधिकारीलाई बर्खास्त गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिइसकेको छ । तर, सरकारले नै अधिकारीलाई बचाइराखेको छ । वाइड बडी घोटाला काण्डमा परेका अन्य कर्मचारीलाई पनि सरकारले संरक्षण गरेको छ । वाइड बडी घोटाला प्रकरणले उग्ररुप लिइरहेका बेला मन्त्री अधिकारी भने भारत प्रस्थान गरेका छन् । मन्त्री अधिकारीलाई पदबाट हटाउन उनकै पार्टीका नेताहरूले प्रधानमन्त्री ओलीलाई दवाव दिँदै आएका छन् । तर, सरकार भने तत्काल उनलाई हटाउने पक्षमा नरहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित