सूचना लुकाउन सरकारका अनेक हत्कण्डा

suchana

   काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका बेला कम्युनिस्ट सत्ता आयो भने ‘अधिनायकवाद आउँछ, बोल्न पनि पाइँदैन, रुन पनि पाइँदैन’ भन्दा धेरैले हाँसोमा उडाएका थिए । देउवाको त्यस बेलाको भनाइ अहिले विस्तारै पुष्टि हुन थालेको छ । सरकारका निर्णय, अभिव्यक्ति र कदमहरूले देश अधिनायकवादतिरै जान थालेको कांग्रेसका नेताहरूले आरोप लगाइरहेका छन् ।

हालै संसदमा सम्बोधन गर्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लोकतन्त्र भएकै कारण ड्याङ–ड्याङ निर्णय गरेर विकास गर्न सकिएन भनेर अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिले लोकतन्त्रमाथि विश्वास गर्नेहरूलाई ठूलो चोट लागेको छ । कांग्रेसले पनि प्रचण्डको त्यो अभिव्यक्तिले संविधान र लोकतन्त्रमाथि खतरा बढ्न थालेको महशुस गरेको छ ।

संविधान र लोकतन्त्रमाथि खतरा बढेको भनेर कांग्रेसले बताइरहेका बेला पत्रकारहरूलाई सिंहदरबारभित्रै रहेको प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय र गृहमन्त्रालय प्रवेशमा रोक लगाएको छ । पत्रकारहरूलाई ती दुई स्थानमा सहज रुपमा प्रवेश दिइँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयभन्दा बाहिर राखिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारको कार्यकक्ष उर्जा मन्त्रालयमा छ । प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्न खोज्दा पत्रकारहरूलाई उर्जा मन्त्रालयतिर देखाइने गरेको एक पत्रकारले बताए ।

प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयभित्र प्रवेश गर्नुपर्दा गेटमा भित्रबाट कसैले फोन गरेर नाम टिपाउनुपर्छ । अन्यथा कुनै पनि हालतमा प्रवेश गर्न दिइँदैन । लोकतन्त्रमा पत्रकारहरूलाई सबै निकायमा सहज पहुँच दिनुपर्छ । यस अगिाडिका सरकारका पालामा पत्रकारहरूलाई सबै कार्यालय र मन्त्रालयहरूमा निर्वाध प्रवेश दिइएको थियो । तर, अहिलेको दुई तिहाईको सरकारले सूचना लुकाउन अनेक हत्कण्डा अपनाएको छ । ‘यो सरकारले केही त गलत गरेको छ’, राष्ट्रिय दैनिक पत्रिकामा काम गर्ने एकजना पत्रकारले भने, ‘पत्रकारसँग डराउने सरकारभित्र केही त गलत भएको छ । होइन भने किन सहज पहुँच दिइँदैन ।’

सरकारले प्रेसलाई आफूबाट टाढा बनाउँदै लगेको छ । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्छन् । आवश्यक प¥यो भने अन्य दिनमा पनि मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ । यसअघि बैठक बसेकै दिन मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने परम्परा थियो । ओली प्रधानमन्त्री बनेपछि ४८ घण्टा कुर्नुपर्ने भन्दै सूचना दिन लुकाइएको छ । बिहीबार चार बजे सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा स्वार्थका निर्णयहरू मात्रै सार्वजनिक गर्ने गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अतहर कमाल मुसलमानले संविधानमाथि प्रहार भएपछि अधिनायकवादी सोच भएका शासकहरूले सबैभन्दा पहिला आक्रमण प्रेसमाथि गर्ने परम्परा रहेको बताए । ‘सुशील कोइराला प्रधानमन्त्री बनेका बेला पत्रकारहरू मात्रै होइन, सर्वसधारणलाई पनि सहज पहुँच थियो’, उनले भने, ‘दुई तिहाईको सरकार हुँदा के त्यस्तो डर भयो ? पत्रकारहरूलाई सूचना लुकाउनु पर्ने ?’

प्रतिक्रिया

सम्बन्धित